युनिलिभरको लाभांश एक कित्ताकै १ हजार ७१४ रुपैयाँ, असोज २८ सम्म वितरण गरिने

लोकपथ
21
Shares

काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । हिजो बुधबार बसेको कम्पनीको १८५ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश घोषणा गरेको हो ।

विगत १० वर्षमा कम्पनीले वितरण गरेको लाभांशमध्ये यो सबैभन्दा उच्च हो । सो कम्पनीले हालसम्म वितरण गरेको लाभांशको अवस्था हेर्दा यसअघि प्रतिकित्ता १ हजार ५८० रुपैयाँसम्म वितरण गरेको तथ्यांक छ । उक्त लाभांश कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको थियो । पछिल्ला तीन ओटा आर्थिक वर्षको लाभांश निरन्तर बढ्दो क्रममा रहेको देखिन्छ ।

सो कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ लाभांशका रूपमा वितरण गर्ने निर्णय गरेको नेपाल स्टक एक्सचेन्जमार्फत सार्वजनिक सूचनामा उल्लेख छ । साथै, आगामी असोज २८ गतेका लागि बुक क्लोजको मिति पनि तय गरेको छ । त्यस दिनसम्म शेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले लाभांश पाउने छन् ।

बुधबार बजार बन्द हुँदा सो कम्पनीको मूल्य प्रतिकित्ता ५० हजार ३९८ रुपैयाँ ९० पैसा छ । यो दोस्रो बजारमा सूचीकृत नेपालको सबैभन्दा महँगो हो ।

कम्पनीको शेयरमूल्य उच्च हुनुको पछाडि कम्पनीले वितरण गर्दै आएको उच्च लाभांश र बलियो वित्तीय अवस्था रहेको लगानीकर्ताहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?