चितवन । भरतपुर महानगरपालिकाले पुंगी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन थालिएको हो ।
सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवन सहितका संरचना डोजर लागएर भत्काइएका छन् ।
महानगरपालिकाले २०८० वैशाख २१ गते नै पुंगी खोला करिडोर नाप जाँच गरी अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दै गत साउन १२ गते सार्वजनिक सूचना जारी गरेको थियो । भदौ २८ गतेको बैठकले पुंगी खोला तथा अन्य स्थानमा अवैधानिक रूपमा बनाइएका घर टहरा लगायतका संरचना भत्काउने निर्णय भएको थियो ।
महानगर प्रमुख रेनु दाहालले पुंगी खोलालाई पुनर्जीवन दिने लक्ष्यसहित संरक्षण तथा नगरको शोभा अभिवृद्धि अभियान एक साथ सुरु गरेको बताइन् । महानगरको गौरवको योजनामा समावेश भएको पुंगी खोला सिमांकन, संरक्षणको पहिलो चरणअन्तर्गत दुवैतर्फ ३५५ मिटर क्षेत्रमा बोटविरुवा तथा फूल रोपिनेछ । वृक्षरोपण, फुटरेल, रिटेनिङवाल, रेलिङसहित हिँड्न मिल्ने गरी संरचना निर्माण गरिने उनले जानकारी दिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया