वरुण वेभरेज : वार्षिक १२ अर्बको कारोबार, सफ्ट ड्रिङ्कमा ४० प्रतिशत बजार हिस्सा

नेपालको राजश्वमा वार्षिक ४ अर्ब बढीको योगदान

लोकपथ
56
Shares

काठमाडौं । पेप्सी कम्पनीको नामबाट परिचित वरुण वेभरेजले गत आर्थिक वर्षमा मात्रै नेपालमा १२ अर्ब रुपैयाँको कारोबार गरेको छ । वेभरेजले एक सूचना प्रकाशित गर्दै गत आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब रुपैयाँको व्यापार गरेको जनाएको हो ।

चिसो पेय पदार्थ (कार्बोनेटेड ड्रिङ्क) मा विश्वमै परिचित ब्रान्डका रूपमा रहेको पेप्सीलगायतका अन्य पेय पदार्थको उत्पादन तथा बिक्री गर्ने वरुण वेभरेजले नेपालमा २०५५ सालबाट सेवा र व्यापार सुरु गरेको हो । पेप्सी, मिरिण्डा, माउन्टेन ड्यु, सेभेन अप, स्टिङ इनर्जी ड्रिङ्क तथा स्लाइस वरुण वेभरेजको चर्चित ब्रान्डहरू हुन् । त्यसबाहेक पनि नेपालमा पेप्सी कम्पनीको सोडा र एक्वाफिना ब्रान्डको पानी चर्चित र लोकप्रिय रहेका छन् ।

वरुण वेभरेजले ५ वर्षअघि मात्रै नवलपरासीको रामग्राममा पनि आफ्नो दोस्रो प्लान्ट स्थापना गरी पेय पदार्थहरूको उत्पादन र बिक्री वितरण सुरु गरेको थियो । नवलपरासीमा स्थापना भएको प्लान्टलाई अझ व्यवस्थित गर्न गत वर्षमात्रै १ अर्ब रुपैयाँ लगानी थप गरी अत्याधुनिक प्लाट निर्माण गरी आफ्नो उत्पादन क्षमता विस्तार गरेको छ ।

मल्टिनेशनल कम्पनी पेप्सीको इंकको आधिकारिक बोटलर्सको रूपमा नेपालमा वरुण वेभरेज नेपाल रहेको छ । नेपालमा रहेको वरुण वेभरेज नेपाल भारतको वरुण वेभरेज लिमिटेडको शतप्रतिशत सेयर स्वामित्व रहेको बहुराष्ट्रिय कम्पनी हो । आफ्नो उत्पादनको बजार विस्तारमा सक्रिय बनेको वरुण वेभरेज नेपालमा बढी कर तिर्ने कम्पनीहरूमध्ये अग्रस्थानमा रहेको कम्पनी पनि हो ।

पेप्सी कम्पनीको नामबाट परिचित रही नेपालमा वरुण वेभरेजको नामबाट उत्पादन गरिरहेको कम्पनी निरन्तर नाफा कमाउने कम्पनी भएकाले उसले राज्यलाई मूल्य अभिवृद्धि कर (भ्याट), अन्तः शुल्क, भन्सार महसुल तथा आयकरसमेत तिरिरहेको र त्यसबाहेक सामाजिक उत्तरदायित्व मार्फत् विभिन्न स्थानमा स्वास्थ्य सेवा, नेपालमा विभिन्न भागमा पुरातात्विक क्षेत्रको संरक्षण र जनचेतनाको कामसमेत गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीले वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढी कर तिर्ने गरेको र प्रत्यक्ष तथा अप्रत्यक्ष गरी दसौँ हजारलाई रोजगारीसमेत दिएको कम्पनीले जनाएको छ ।

सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै पेप्सी कम्पनी
कम्पनीमा अनुसार वरुण वेभरेजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्थानमा स्वास्थ्य सेवा, जनचेतना तथा धार्मिक क्षेत्रमा समेत सहयोग गरिरहेको छ । कम्पनीले काठमाडौंको सिनामंगलमा ‘आरु’ नामक निःशुल्क क्लिनिक सञ्चालन गरिरहेको छ । उक्त क्लिनिकमा निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क चिकित्सा परामर्श, निःशुल्क प्रयोगशाला परीक्षण र केही औषधीसमेत निःशुल्क वितरण गर्ने गरिएको छ ।

त्यसैगरी वेभरेजले विराटनगरको विराट आँखा अस्पताललाई समेत भौतिक, प्राविधिक र आर्थिक सहयोग गरिरहेको छ । विराट आँखा अस्पताल उक्त क्षेत्रमा आँखाको उपचारका लागि प्रख्यात अस्पतालसमेत हो । साथै उपभोक्ता सचेतनाको क्षेत्रमा विभिन्न संघ सस्थासँग सहकार्यमा काम गर्दै आइरहेको छ ।

यसैगरी वरुण वेभरेजले महिला तथा बालबालिकाहरूमा हुने गरेको यौन दुर्व्यवहार न्यूनीकरण गर्ने उद्धेश्यले सचेतनाका लागि समेत काम गर्ने गरेको छ । कम्पनीले नेपाल प्रहरीसँगको समन्वय र सहकार्यमा पोर्नोग्राफीका गलत पाटोहरूका बारेमा बालबालिकालाई चेतना जगाउनका लागि नेपाल प्रहरीसँग समन्वय गरेर महिला र बालबालिकाको क्षेत्रमा समेत काम गर्दै आइरहेको बताएको छ ।

वेभरेजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत नै नवलपरासीको रामग्राम परासीको नदवा गाउँमा सामुदायिक मन्दिर जिर्णोद्धारमा पनि सहयोग गरेको छ ।

भारतमा बजारको ठुलो हिस्सा आफ्नो कब्जामा लिएको पेप्सी कम्पनीले नेपालमा करिब ४० प्रतिशत बजार हिस्सा ओगट्दा श्रीलंका, जिम्बाबे, मोरक्को, दक्षिण अफ्रिका, कङ्गो र केन्यामा समेत आफ्नो व्यापारमा बर्चस्व कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?