काठमाडौं । राजधानी काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सबै नाकाका सडकहरु बिग्रिँदा आवत जावत ठप्प बनेको छ । आज तेस्रो दिन पनि काठमाडौं उपत्यकाबाट गाडीहरु बाहिरिएका छैनन् भने भित्रिने क्रममा रहेका गाडीहरु पनि बीचबाटोमै अलपत्र पर्दा यात्रुहरुको बिचल्ली बनेको छ ।
पृथ्वी राजमार्ग हुँदै काठमाडौंको नागढुंगा नाका प्रवेश गर्ने सडकको अवस्था सबैभन्दा खराब छ । नागढुंगाबाट नजिकै रहेको धादिङको झ्याप्ले खोलानेर ठूलो पहिरो झर्दा केही गाडीहरु पुरिएका छन् । त्यहाँको पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँबाट हिजो १४ र आज बिहान तीन जनाको शव फेला परेको छ । बस र माइक्रोबसमा पुरिएको अवस्थामा ती शव फेला परेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले धादिङ र काठमाडौं दुवैतिरबाट नागढुंगाको पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए । ‘झ्याप्ले खोलामा ठूला–साना ३/४ वटा गाडीहरु पुरिएका छन्, थुप्रै गाडीहरुमा क्षति पुगेको छ,’ प्रवक्ता खड्काले भने, ‘पहिरो पन्छाएर बाटो खुलाउन कम्तिमा आज मध्याह्नसम्म लाग्छ ।’
ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट पूर्वतिर र दक्षिणतिर जाने सडकमा पनि पहिरोले क्षति पुगेकाले सवारी आउजाउ ठप्प भएको छ । पूर्वतिर जाने बीपी राजमार्गको ठाउँठाउँमा सडक भाँसिएको छ भने केही ठाउँमा रोशी खोलाले सडक बगाएको छ । बाटो बगेकाले पूर्वबाट आएका सबै सवारीसाधन नेपालथोकमै रोकिएका छन् । रोशी खोला बाटोबाटै बगेकाले निर्माणका लागि केही समय लाग्ने देखिन्छ । त्यस्तै काभ्रेको नार्केमा पनि रोशी खोलाले सडक कटान गरेको छ ।
बिपी राजमार्गअन्तर्गत सिन्धुलीदेखि मुलकोटसम्म अवरोध नरहेको तथा दुम्जा क्षेत्रमा भत्किएको सडक मर्मत गर्न सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र सडक विभागको सहकार्यमा यथाशीघ्र बाटो खोलिने सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए । भत्किएको सडक र पुल मर्मत गरी यथाशीघ्र यातायातका साधन सञ्चालनका लागि संघ र प्रदेश सरकारसँग बजेट र अन्य सहायताका निम्ति अनुरोध गरिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बताए ।
उत्तरतर्फ (नुवाकोट)तिर जाने सवारी साधनहरु टोखा, झोर हुँदै चलिरहेका छन् । तर त्यो बाटोमा अत्यावश्यक सवारी साधनमात्र चलिरहेको ट्राफिक प्रहरीले सञ्चालन गरेको एफएमले जनाएको छ । तर उत्तरतिर जाने सडक पनि पहिरोले गर्दा ठाउँ–ठाउँमा अवरोध छ ।
सडक विभागका अनुसार त्रिभुवन लोकपथ पनि पूर्ण अवरुद्ध छ । सिर्सिया–पथलैया–हेटौंडा–भैंसे–पालुङ–नौबिसे–काठमाडौं खण्डमा पनि पहिरो गएका कारण सो सडक बन्द भएको हो ।
यस्तै, अरनिको लोकमार्गअन्तर्गत काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी लोकमार्ग पनि अवरुद्ध भएको छ । सो लोकमार्गअन्तर्गत सिन्धुपाल्चोकको लार्चा पुल बगाएपछि यातायात सञ्जाल पूर्ण विच्छेद भएको छ ।
सडक डिभिजन नुवाकोटअन्तर्गत ठोरी–भण्डारा–मलेखु–गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी सडकखण्डअन्तर्गत घादिङको भुट्टार क्षेत्रमा तथा बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेंसी सडकखण्डअन्तर्गत नुवाकोटको ३५ किलो र तादी पुलमा आएको बाढीका कारण सडक अवरुद्ध भएको विभागले जनाएको छ ।
ग्वार्को–लुभु–लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–दाहालटार सडकखण्डअन्तर्गत ललितपुरको लाँकुरीभञ्ज्याङस्थित मानेदोभान क्षेत्रमा गएको बाढी र पहिरोका कारण समस्या सिर्जना भएको छ । दक्षिणकाली नगरपालिका–८ को सिस्नेरी सडकखण्ड, कीर्तिपुर नगरपालिका–६ को बल्खु फर्पिङ र वडा नं १० को त्रिभुवन विश्वविद्यालय सेवा आयोग अगाडि पहिरो खसेको छ । गोदावरी नगरपालिका–६ को लेले टीकाभैरव जाने बाटोमा पहिरो खसेको छ ।
कान्ति लोकपथअन्तर्गत हेटौंडा–बाग्मती–टीकाभैरव–भैंसेपाटी–एकान्तकुना सडकखण्ड पनि अवरुद्ध छ । यस लोकमार्गको आँपचौर भन्ने स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया