झ्याप्ले खोलामा एउटै माइक्रोमा १० जनाको शव भेटियो, माइक्रो चितवनबाट काठमाडौं आउँदै गरेको पुष्टि

लोकपथ
1.2k
Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको धादिङको झ्याप्ले खोलामा पुरिएको अवस्थामा आज मात्र १० ओटा शव फेला परेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सो ठाउँको सडकमा खसेको पहिरो पन्छाउने क्रममा गाडीभित्रैबाट ती शव निकालेको हो ।

आज बिहान गाडीभित्रै तीन वटा शव फेला परेकोमा केही समयअछि मात्रै थप सात वटा शव फेला परेको सशस्त्र प्रहरी बल प्रधान कार्यालय सूचना शाखाले जनाएको छ । आज फेला परेका १० शवमध्ये आठ जना पुरुष र दुई जना महिलाको रहेको सशस्त्र प्रहरीले जनाएको छ । ती शव बा३ज १३४५ नम्बरको माइक्रोबसमा भेटिएको र सो माइक्रो चितवनबाट काठमाडौं आएको सशस्त्रले जनाएको छ ।

फेला परेका शवको सनाखत हुन बाँकी रहेको छ । झ्याप्ले खोलामै हिजो राति मात्रै दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।

सो ठाउँमा अरु पनि बस पहिरोमा पुरिएको बताइएको छ । सो ठाउँमा सशस्त्र प्रहरीको डीएसपीको कमान्डमा र नेपाली सेना, नेपाल प्रहरी सहितको टोली उद्धारमा खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?