झ्याप्लेखोलामा पुरिएकामध्ये २९ वटा शव फेला

लोकपथ
749
Shares

काठमाडौं । धादिङ र काठमाडौंको सीमानामा पर्ने नागढुंगास्थित झ्याप्ले खोलाको पहिरोमा परी मृत्यु भएकामध्ये २९ जनाको शव फेला परेको छ ।

आइतबार १५ जनाको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार शनिबार सो ठाउँबाट १४ जनाको शव निकालिएको हो । अझै शव बढ्न सक्ने प्रहरीको आँकलन रहेको छ ।

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा परी त्यहाँ बस र हायस गरि ४ वटा सवारी पुरिएका छन् ।
आज चितवनबाट काठमडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको हायसबाट १२ जनाको शव फेला परेको हो । त्यस्तै

गोरखाबाट आउँदै गरेको हायसबाट ३ जनाको शव निकालिएको उनले बताए । त्यहाँ पुरिएका ३ वटा गाडी निकालिसकिएको छ भने अन्य एउटा गाडी निकाल्ने तयारी भइरहेको छ ।

अहिले त्यहाँ १०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेर उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतमकुमार केसीले जानकारी दिए । आफूहरुलाई सुरुमै पहिरो आएको जानकारी भए पनि गाडी परिएको जानकारी नभएको बताए । आफन्तहरुले गाडी सम्पर्कविहीन भएको भन्ने खबरपछि त्यहाँ खोजिकार्य गरिएको उनले बताए ।

‘सुरुमा पहिरो आएर बाटो अवरुद्ध भएको मात्रै जानकारी प्राप्त भयो । तर यसरी गाडी नै पुरिएको भन्ने जानकारी थिएन । पछि मृतकका आफन्तहरुले गाडीहरु सम्पर्कविहीन भएको भन्ने खबर गरेपछि मात्रै हामीले उद्धारको काम थालेका हौँ,’ उनले भने ।
बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?