काठमाडौं । विपद् जोखिम तथा न्यूनीकरणमा आवश्यक पहल नगरेको भन्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकको चर्काे आलोचना भइरहेको बेला गृह मन्त्रालयले सोही कारण देखाउँदै धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालय तानेको छ ।
गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलाई गृह मन्त्रालय तान्दै धादिङमा सहसचिव सुमन घिमिरे र काभ्रेमा अर्का सहसचिव उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको छ ।
मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दुवै जनालाई जतिसक्दो चाँडो जिम्मेवारी सम्हाल्ने गरी सम्बन्धित जिल्लामा जान निर्देशन दिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानपछि काठमाडौंतर्फबाट जाने गाडीलाई रोक लगाइए पनि धादिङ हुँदै काठमाडौं आउने गाडीहरू सञ्चालनमा रोक लगाइएको थिएन ।
अविरल वर्षा र बाढीपहिरोका बीच सवारी साधन चल्न दिँदा पृथ्वी राजमार्गअन्तर्गको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा ३५ जनाको मृत्यु भएको थियो । त्यस्तै काभ्रेमा पनि बाढीपहिरोले धेरै जनधनको क्षति भएको छ ।
गत बिहीबारदेखि शनिबारसम्मको निरन्तर वर्षापछिको बाढीपहिरोबाट काभ्रेका रोशी, तेमाल, पनौती बेथानचोकलगायत पालिका बढी प्रभावित भएका छन् ।
जिल्लाका पालिकाबाट प्राप्त तथ्यांकअनुसार आइतबार साँझसम्म काभ्रेमा मृत्यु हुनेको संख्या ६६ पुगेको छ । तर अति बाढी प्रभावित जिल्लाहरु काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, रामेछाप र मकवानपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई चलाइएको छैन ।
यी सबै जिल्लाका प्रजिअमाथि विपद् व्यवस्थापनमा तत्परता नदेखाएको गुनासो छ । यति मात्र होइन, सामाजिक सञ्जालमा विशेषगरी कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकको राजीनामा माग्ने जमात पनि ठूलै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया