ललितपुर । शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौं उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठुलो जनधनको क्षति पुर्यायो । ललितपुरको टीकाभैरव भएर बग्ने नख्खुखोला छेउका बस्ती पूर्ण रूपमा डुबानमा परे । घर, पसल र बासस्थानमा पानी पसेर यहाँको जनजीवन, व्यापार, व्यवासय अस्तव्यस्त छ । खोला किनारामा बसोबास गर्नेहरूको टहरासहित सबै सरसमान बगाएको छ ।
शनिबार बेलुकीदेखि नख्खु खोलाको बहाव घटेपछि बाढीपीडितहरू बाढीबाट जोगिएका तर निथ्रुक्क भिजेका सरसमानको व्यवस्थापनमा जुटेका छन् । हाल घर, पसल तथा भवनका कोठाभित्र पसेको लेदो हटाउने काम भइरहेको छ । मोटरसाइकल, गाडीलगायत धेरै सामग्री बगाएको कपितय बाढीपीडितको भनाइ छ ।
ललितपुर महानगरपालिका–१४ नख्खुडोल र ललितपुर वडा नं २५ भैँसेपाटी जोड्ने पुलमा बाढीले क्षति पुर्याएपछि अहिले आवतजावतमा रोक लगाइएको छ । नख्खुडोल पुल छेउमा बसोबास गर्नेको अस्थायी टहरा सबै बगाएको छ । खोलाले डुबाएको सरसमान व्यवस्थापनका लागि आफन्तको सहायता लिएर जुटेका छन् । करिब रु १३ लाख लगानी रहेको नर्सरी र अस्थायी टहरमामा रहेको सबै सरसमान बगाएको स्थानीय रोम रानाको भनाइ छ ।
उनले भने, ‘समाचारकानुसार बाढी आउला कि भनेर हामी सचेत त थियौँ तर तत्काल सरसमान अर्को ठाउँमा सार्ने अवस्था भएन । जब राति कोठामा पानी पस्यो त्यसपछि महत्त्वपूर्ण कागजपत्र निकाल्न भ्यायौँ, अरू सबै बाढीले बगायो । अब के खाने र कहाँ बस्ने भन्ने चिन्ता छ । तत्कालका लागि त आफन्तकहाँ बसेका छौँ ।’
त्यसैगरी नख्खु डोलमा पाँच वटा पसल बगाएको छ । अस्थायी टहरामा सञ्चालित पसल पूर्ण रूपमा बगाएकाले कति क्षति भएको छ भन्ने यकिन गर्न नसकिएको स्थानीय बताउँछन् । दुःखले जोडेको सबै सामान बगाएकामा बाढीपीडित नारायण सुनुवार हाल निकै चिन्तामा हुनुहुन्छ । ‘म मजदुरी गरेर जीविका चलाउने मान्छे हुँ । काम गरीखाने सबै सामग्रीसमेत बगाएको छ । अब कहाँ बस्ने, के खाने भन्ने चिन्ता छ । अहिलेसम्म कतै राहतको व्यवस्था भएको छैन । ज्यान जोगिए पनि लत्ताकपडा र अत्यावश्यक सबै समान बगाएको छ’, उनले भने ।
नख्खु खोलाले क्षति पुर्याएको ठाउँमा तत्काल विद्युत, पानी र बाटोको व्यवस्थापनमा जुट्ने ललितपुर महानगरपालिका–१३ का वडाध्यक्ष गणेश केसीले बताउए । उनले भने, ‘नख्खु खोलाले क्षति पुर्याएकोमा हामी निकै दुःखी छौँ । हाम्रो वडामा अवरोध भएको बाटो, विद्युत खानेपानी आपूर्ति व्यवस्थापनलाई पहिलो प्राथामिकता दिएर व्यवस्थापनमा लागिरहेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया