‘मलाई मुद्दा चलाए फेस गर्न तयार छु, मैले प्रमाण भएर बोलेको हुँ’

लोकपथ
2.1k
Shares

काठमाडौं । नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूले बोलेका कुराविरुद्ध मुद्दा दर्ता गरे त्यसलाई फेस गर्न तयार रहेको बताएका छन् ।

सर्वोच्च अदालत प्रशासनले उनीविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दर्ता गर्न लागेपछि पत्रकार सम्मेलन गर्दै आफूले बोलेका कुराहरु सत्य रहेको बताए । साथै यसअघि गठन भएको समितिले समेत न्यायालयमा भ्रष्टाचार रहेको निष्कर्ष निकालेको भन्दै आफूले बोलेको कुरा गलत नभएको दाबी गरे ।

अध्यक्ष घिमिरेले केही दिन अघि नगरकोटमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानन्यायाधीशले घुस खाएको र घुसको रकम मिलान गर्न न्यायाधीश नियुक्ति सिफारिसमा हतार गरेको अभिव्यक्ति दिएका थिए ।

साथै उनले गैरसंवैधानिक न्याय परिषद् नियमावली खारेज हुनुपर्ने र न्यायाधीश नियुक्तिमा अनियमितता तथा लेनदेन भएको आरोप लगाउँदै न्यायपालिका भित्रको विकृति र विसंगति अन्त्यको माग गर्दै आएका छन् ।

त्यसैलाई इस्यू बनाउँदै सर्वोच्च अदालतले घिमिरेलाई अदालतको अवहेलनाको रूपमा व्याख्या गर्दै प्रतिवेदन तयार गरेको सूचनापछि पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेका हुन् ।

यदी यो मुद्दाको विषय बन्छ भने म मुद्दाकै ठाउँमा डिफेन्स गर्नेछु । हामीले भनेको कुरा के हो भने, २ जना नियुक्त गर्नुभयो उहाँहरुले ६ जना खाली थियो । अरु पनि नियुक्त गर्नुपर्ने । नियुक्त गर्ने कुराको हामी विरोधी होइन । हामीले के भनेको भने तपाईँले गैर संवैधानिक नियमावली संशोधन गर्नुभयो । यो भन्दा ठुलो आरोप केही हुन्छ र ?,’ पत्रकार सम्मेलनमा उनले भने, ‘न्यायालयमा अनियमितता छ, भ्रष्टाचार छ भन्ने कुरा त हरिकृष्ण कार्कीको प्रतिवेदनले भनिसकेको छ । प्रकाशमान सिंह राउतको प्रतिवेदनले भन्यो नि । जसमा चण्डेश्वर श्रेष्ठ, पूर्णमान शाक्य समेत हुनुहुन्थ्यो ।’

त्यस्तै न्याय परिषद्ले गैर संवैधानिक काम गरेको भन्दै त्यसलाई रोक्न आफूहरु लागेको बताए । साथै आफूहरु बाहेक त्यो विषयमा कुनै पनि व्यक्ति बोल्न नसकेको बताए । बारको २१ औँ सम्मेलनले नै न्यायालयमा भ्रष्टाचार रहेको कुरा भनिसकेपछि आफू व्यक्तिले मात्र बोलेको कुरा नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?