राजमार्गतर्फ २ अर्ब ५२ करोड क्षति, सुचारु गराउन प्रयास जारी

लोकपथ
0
Shares

काठमाडौं । सडक विभागका महानिर्देशक ई.रामहरि पोखरेलले बाढी/पहिरोबाट प्रभावित सबै राजमार्ग सुचारु गर्न सम्पूर्ण शक्ति र संयन्त्र प्रयोग गरेर काम भइरहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै महानिर्देशक पोखरेलले विभिन्न कारणले समयमै अवरुद्ध राजमार्ग खुलाउन नसकेको बताएका हुन् ।

उनले भने,‘यो महामारीमा सबभन्दा बढी पीडित भनेको सडक नै परेको छ । हामी सडक सुचारुको लागि अहोरात्र खटिएका छौँ । यति हुँदापनि जनताले चाहेको जस्तो हुन सकेको छैन । पूर्ण सन्तुष्ट छैनौँ ।’ 

तर, सबै राजमार्ग सुचारु गर्नको लागि राज्य–संयन्त्र लगाएर काम भैरहेको उनको भनाई छ । उनले भने,‘असोज ११ र १२ गतेको अवस्था के थियो भने २३ वटा राजमार्गको ६९ वटाभन्दा बढी ठाउँमा राजमार्ग अवरुद्ध भएको अवस्था थियो । अहिले पछिल्लो स्थिति हेर्दा १२ वटा राजमार्गको ३४ स्थानमा अझै पनि अवरुद्ध छ । त्यसमा पनि मुख्य–मुख्य राजमार्गको कुरा गर्नु पर्दाखेरि यो नौबिसे–नागढुंगा मुग्लिन सडक खण्ड, कान्ति, वीपी राजमार्ग र पुष्पलाल राजमार्ग रहेका छन् ।’

महानिर्देशक पोखरेलले आफूहरूले सबै संयन्त्र लगाएर नौबिसे–नागढुंगा मुग्लिन सडक खण्ड एकतर्फी सुचारु गराएको सुनाए । तर, एकतर्फी  खोल्दा त्यहाँ अड्किएका सवारीसाधनलाई काठमाडौं भित्र्याइएको उनले जनाए । 

अत्यावश्यक वस्तु (खाद्यान्नसहित) सवारीलाई प्रोटोकल मिचेर पनि आफूहरूले सुरूङमार्गमार्फत ल्याएको पोखरेलको भनाइ छ । त्यसको लागि आफूहरूले जापानीहरूलाई अनुरोध गरिएको उनले स्पष्ट पारे । आजै नै सो मार्ग दुईतर्फी सञ्चालनमा ल्याउनेगरि काम भैरहेको उनको भनाई छ । 

उनले वीपी राजमार्गको अवरोध सुचारुको लागि चुनौती रहेको सुनाए । उनले भने,‘वीपी राजमार्गको चौकी डाँडा भन्ने ठाउँ धुलिखेलबाट झन्डै ३४ किलोमिटर जति पर्छ  त्यहाँ साढे दुई किलोमिटर बाटो बगाएको छ । त्यसको  अहिलेसम्म प्रारम्भिक क्षतिको विवरण हेर्दा दुई अर्ब ५२ करोड क्षति भएको तथ्यांक पेश गरे । तर, विस्तृत विवरण आइपुग्दासम्म यो क्षतिको अंक बढ्नसक्ने उनको भनाई छ ।

देशव्यापी रुपमा क्षति भएका राजमार्गको स्थायी निर्माणको लागि अर्थ मन्त्रालयमा अनुरोध गरिने र स्थायी रुपमा काम अघि बढाउने पोखरेलको भनाई छ । महामारीको अवस्थामा सडक विभागले सम्पूर्ण शक्ति लगाएर काम गरेकोले मिडियाले पनि प्रशंसा नै गरेको उनले सुनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?