पर्सामा बने दुई अस्पताल, दुई अधुरै

लोकपथ
28
Shares

पर्सा । सरकारले पर्सामा चार वटा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेकामा हालसम्म दुई अस्पताल भवन मात्र निर्माण भएको छ  ।

पटेर्वा सुगौली गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आइसकेको छ भने ठोरी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पटेर्वा सुगौलीमा निर्माण भएको आधारभूत अस्पतालबाट सेवा प्रवाह भइरहेको छ ।

पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेशकुमार चौधरीले निरन्तरको पहलकदमीका कारण आधारभूत अस्पताल भवन निर्माण गरेर सेवा प्रवाह भएको बताए ।

ठोरी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवनमा धमाधम रङरोगनको काम भइरहेको छ । उक्त गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीको १५ शय्याको अस्पताल भवन निर्माण प्रायः पूरा भएको बताए ।

पर्सामा निर्माण हुनुपर्ने अन्य दुई आधारभूत अस्पतालको काममा भने प्रगति भएको छैन।धोबिनी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल निर्माणमा ढिलासुस्ती भएको छ ।

धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानले पालिकामा निर्माणाधीन आधारभूत अस्पतालको भौतिक प्रगति २५ प्रतिशत भएको बताए । यसैगरी जिरा भवानीमा निर्माणाधीन १० शय्याको अस्पतालको प्रगति पनि २० प्रतिशतभन्दा अधिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?