क्षेप्यास्त्रलाई आकाशमा निस्तेज पार्ने ‘आइरन डोम’ मा भर परेको इजरायल, प्रभावकारी कति ?

लोकपथ
154
Shares

काठमाडौं । इरानले बुधबार इजरायलतर्फ प्रहार गरेको झण्डै १८० वटा क्षेप्यास्त्रमध्ये अधिकांशलाई इजरायली हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरिदिएको छ । प्रहार भएकामध्ये केही सैन्य अखडामा लागेको छ भने केही रेस्टुराँ र विद्यालयमासमेत क्षति पुगेको छ । अधीनस्थ वेस्ट बैंकको जेरिको क्षेत्रमा एकजना प्यालेस्टिनी पुरुष मारिएका छन् ।

इरानी विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल एक्समा इरानले आफ्नो सैन्य कारबाही ‘पूरा गरेको’ तर इजरायलले जबाफी कारबाही गरे थप हमला गर्ने जनाएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानले ‘ठूलो गल्ती गरेको’ बताउँदै त्यसको ‘मूल्य चुकाउनु पर्ने’ बताएका छन् । यसबाट इजरायल र इरानबीच द्वन्द्व चर्कने सम्भावना बढेको छ । उता, इरानले इजरायलमा क्षेप्यास्त्रहरू प्रहार गरेपछि तेहरानका सडकमा खुसीयाली मनाइएकाले पनि इरान पछि नहट्ने सम्भावनालाई नकार्न सकिँदैन ।

इरानले ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै इजरायलमाथि आक्रमण गरेपछि इजरायलले सयौँ ड्रोन र क्षेप्यास्त्रलाई निष्क्रिय पारिएको बताएको छ । त्यसका लागि इजरेली सेनाले ‘आइरन डोम’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पनि प्रयोग गरेको छ । यसअघि हमास लडाकु समूहले प्रहार गरेका रकेटहरू निष्क्रिय पार्न पनि उक्त क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली उपयोगी भएको इजरायलले बताएको थियो । उक्त प्रणाली प्रयोग नगरिएको भए अहिले जारी द्वन्द्वमा इजरेलपट्टि हुने मानवीय क्षति ‘निकै बढी’ हुने इजरायली सेनाको भनाइ थियो । यद्यपि इजरायलतिर प्रहार गरिएका केही रकेटहरू आवासीय क्षेत्रमा खसेका थिए ।

इजरायलले निकै भरपर्दाे दाबी गरेको ‘आइरन डोम’ के हो ? यसले कसरी काम गर्छ ? यस विषयमा हामी केही जानकारी दिन गइरहेका छौं ।

इजरायली अधिकारीहरूका अनुसार उक्त प्रणालीले अधिकांश रकेटलाई आकाशमै ध्वस्त पारिदिन्छ । त्यसो हुँदा सघन बस्ती भएका सहरलाई जोगाउन सकिन्छ । वास्तवमा ‘आइरन डोम’ को उद्देश्य नै इजरायललाई लक्ष्य गरी प्रहार गरिएका छोटा दूरीका क्षेप्यास्त्रलाई निस्तेज पार्नु हो । यसले जस्तोसुकै मौसममा पनि काम गर्न सक्छ ।

यसले रकेटको अवस्थिति पत्ता लगाउन ’रेडार’ प्रयोग गर्छ अनि आवासीय क्षेत्रमा पुग्न सक्ने सम्भावना भएका र नसक्ने रकेट छुट्ट्याउन सक्छ । यो प्रणालीले मानिसहरू बस्ने क्षेत्रमा प्रहार गर्न सक्ने रकेट पहिचान गरेर तिनलाई निस्तेज पार्न ‘इन्टर्सेप्टर’ अर्थात् ‘अवरोधक क्षेप्यास्त्र’ प्रहार गर्छ । यसमा इजरालभरि प्रयोग गरिएको विविध क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरू संलग्न छन् । प्रत्येक प्रणालीमा तीनदेखि चारवटा ’लन्चर’ हुन्छन् र तिनले २० वटा ’अवरोधक क्षेप्यास्त्र’ प्रहार गर्न सक्छन् । यो प्रणाली एकैठाउँमा जडान गरेर राखिएको र चलायमान गरी दुई थरी हुन्छ ।

दक्षिणी लेबनानमा आधार बनाएर लड्ने हिज्बुल्लाह लडाकु समूहसँग सन् २००६ मा द्वन्द्व भएपछि इजरायलले यो प्रणाली विकास गरेको हो । त्यसबेला हिज्बुल्लाहले हजारौँ पटक रकेट आक्रमण गरेर इजरायलमा ठूलो धनजनको क्षति पुर्‍याएको थियो । त्यसको एक वर्षपछि इजरायलले राज्यद्वारा सञ्चालित ’राफेल एड्भान्स्ड डिफेन्स सिस्टम्स’ले क्षेप्यास्त्र रोक्ने नयाँ ‘ढाल’ बनाउने घोषणा गरेको थियो । त्यसबेला उक्त परियोजनाका लागि २० करोड डलरभन्दा बढी रकम उपलब्ध गराइएको थियो । केही वर्षको अनुसन्धान र निर्माणपछि सन् २०११ मा उक्त प्रणालीको वास्तविक प्रयोग गरिएको थियो । दक्षिणी इजरायलको वीरशिबा नगरमा प्रहार गरिएको एउटा क्षेप्यास्त्रलाई त्यसले निस्तेज पारिदिएको थियो । सन् २०१९ मा संयुक्त राज्य अमेरिकाले ‘आइरन डोम’ प्रणालीका केही एकाइ किन्ने र परीक्षण गर्ने निर्णय गरेको थियो ।

इजरायली सेनाले यो प्रणालीको सफलताको दर ९० प्रतिशतसम्म भएको जनाएको छ । ११ महिनाअघि इजरायलमाथि अप्रत्याशित आक्रमण गर्दा आफूले ५,००० वटा रकेट प्रहार गरेको हमासले जनाएको थियो । यद्यपि इजरेलले केवल २,५०० वटा रकेट प्रहार भएको हुन सक्ने बताएको थियो । आइरन डोम प्रणालीले थेग्न नसक्ने गरी ती रकेटहरू छोटो अवधिमा प्रहार भएका थिए ।

वास्तवमा आइरन डोमले इजरेली नागरिकहरूलाई रकेट आक्रमणबाट जोगाएकोमा कुनै सन्देह छैन । तर यसले पूर्ण सुरक्षा दिन सक्दैन । भविष्यमा अरू शत्रुबाट आक्रमण भयो भने गाजाबाट प्रहार भएका ९० प्रतिशत रकेट रोक्न सक्ने क्षमता अपर्याप्त हुन सक्छ । अर्काे कुुरा, हिज्बुल्लाहसँग थोरै समयमा धेरै क्षेप्यास्त्र प्रहार गर्न सक्ने क्षमता छ । त्यस्तो स्थितिमा ‘आइरन डोम’लाई सबै प्रहार निस्तेज बनाउन कठिन हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?