चोरीको निवेदन दिएकी महिलालाई अनुसन्धानमा सघाउने भन्दै प्रहरीद्वारा नै बलात्कार प्रयास

जाहेरीपछि आरोपित प्रहरी निलम्वित

लोकपथ
966
Shares

काठमाडौं । ‘चोर’ पक्राउ परेको जानकारीसहित प्रहरी वृत्त लैनचौरमा बोलाइएकी जाहेरवाला महिलामाथि सोही वृत्तका एक जना प्रहरीले बलात्कार प्रयास गरेको खुलासा भएको छ । पीडित जाहेरवाला महिलाको निवेदनपछि आरोपित प्रहरी सहायक हवल्दार अनिलकुमार दाहाललाई निलम्बन गरिएको छ ।

स्वयम्भूमा बस्दै आएकी एक महिलाको कोठामा चोरी भएपछि ती महिला भदौ २० गते जाहेरी दिन प्रहरी वृत्त स्वयम्भूमा गएकी थिइन् । स्थानीय प्रहरीले लैनचोर प्रहरी वृत्तमा पनि उजुरी दिनु भनेपछि उनी त्यसै दिन लैनचौर प्रहरी वृत्त पनि पुगेकी थिइन् । त्यहाँ उनले चोरीमा संलग्न व्यक्तिको तस्बिर र आफ्नो मोबाइल नम्बर छाडेर कोठा फर्किइन् । त्यसपछि केही दिनपछि बुझ्न जाँदा जाहेरवाला महिलाको सहायक हबल्दार दाहालसँग कुराकानी भयो । उनले चोर भेटिए आफूले खबर गरिदिने भन्दै महिलाको नम्बर पनि मागे ।

भदौ २९ गते राति ९ बजे प्रहरी सहायक हवल्दार दाहालले ‘चोर पक्राउ पर्ने वाला छ, तुरुन्त आउनु’ भन्दै ती महिलालाई फोन गरे । महिलाले ‘आफ्नो ८ वर्षको बच्चा छ, भोलिपल्ट आउँछु’ भन्दा नआए चोरलाई छाडिदिन्छु भन्ने जवाफ दिए । त्यसपछि उनी पठाओ मार्फत् प्रहरी वृत्त लैनचौरतर्फै लागिन् ।

तर उनलाई ठमेल पुर्‍याइयो । उनले चोर कहाँ छ ? भनेर सोध्दा दाहालले एकछिनमा ल्याउछौँ भन्दै होटलको कोठामा पुर्‍याए र बलात्कार गर्न खोजे । त्यसपछि ती महिला भागिन् ।

उनले यी सबै कुरा उल्लेख गरेर सहायक हवल्दार दाहालविरुद्ध जाहेरी दिएपछि दाहाललाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?