काठमाडौं । नेपाल यू–२० पुरुष भलिबल टोलीलाई बिदाइ गरिएको छ । बुधबार श्रीलंकामा हुन लागेको पुरुष यू–२० भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको हो ।
नक्सालस्थित क्राउन प्लाजा होटेलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघको अध्यक्ष जितेन्द्रबहादुर चन्द्र, उपाध्यक्ष भरत शाह, प्रशिक्षक जगदीश भट्टलगायतले टोलीको बिदाइ गरेका हुन् ।
सोही क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले राम्रो खेल प्रदर्शन गर्न सबैलाई आग्रह गर्दै राष्ट्रिय खेलकुद परिषद् सधैँ साथमा रहेको बताए ।
उनले भने, ‘हामीले राम्रो खेल खेले पनि जुन उचाइ हासिल गर्नुपर्ने थियो त्यो हासिल गर्न सकिरहेका छैनौ । त्यो अभावलाई पूर्ति गर्नको लागि उमेर समूहगत रूपमा बनेको पुरुषहरूको टिमले निकै ठुलो अर्थ राख्छ । तपाईँहरूको काधमा रहेको त्यो जिम्मेवारी पूरा गर्नुहुन्छ भन्ने कुरा मैले विश्वास लिएको छु । तपाईँहरू अगाडि बढ्नु तपाईँका साथमा राष्ट्रिय खेलकुद परिषद् सधैँ रहने छ ।’
च्याम्पियनसिप अगामी असोज २० देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुँदैछ । राष्ट्रिय टोलीमा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी, दिनेश कुँवर रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया