विपदमा परेका १७ हजार भन्दा बढीको सकुशल उद्धार 

लोकपथ
28
Shares

काठमाडौं । मुलुकभरबाट बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ ।

विपद्मा खोज उद्धारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयंसेवकहरूबाट गरी बिहीबार बिहानसम्म १७ हजार भन्दा बढीको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिए । 

उनले विपद्मा परी बेपत्ता परेका २२ जनाको खोजी कार्य जारी रहेको जानकारी दिँदै विपद्का घटनामा पुरी मुलुकभर घाइते भएका १६९ जनाको विभिन्न अस्पतालहरूमा निःशुल्क उपचारको प्रवर्द्धन गरिएको बताए । 

‘घाइते मध्ये धेरैको स्वास्थ्य अवस्था ठिक भएर घर फर्किसक्नु पनि भएको छ ।’ प्रवक्ता तिवारीले भने, ‘विपद्का बेला अति प्रभावित क्षेत्रमा सुरक्षाकर्मीद्वारा घटनास्थलमै स्वास्थ्य शिविर र तत्कालको राहत समेत वितरण गरिएको थियो ।’

गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्याबाट २ हजार १५८ जना, कोशी प्रदेशबाट ९० जना, मधेस प्रदेशबाट ३५ जना, सबैभन्दा बढी बागमती प्रदेशबाट १३ हजार ६४० जनाको उद्धार गरिएको छ ।

त्यसैगरी गृह मन्त्री रमेश लेखकले खोज, उद्धार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाल निकाय एवं मन्त्रालयसित समन्वय गरिरहेका छन् । 

उनले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई उद्धार, राहत वितरण र घाइतेहरूको स्वास्थ्य उपचारमा विशेष ध्यान दिन निर्देशन दिए । 

गृहमन्त्री लेखकले राजमार्ग सुचारु गर्न सहजीकरण, यात्रुहरूको सहज र सुरक्षित यात्रा गर्ने लगायतका विषयमा यातायात व्यवसायीहरूसित पनि छलफल गरेका थिए ।

त्यस्तै काठमाडाैं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली लगायतका जिल्लामा विपद्मा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता बापत राहत रकम उपलब्ध गराउनुका साथै घर भत्किएका परिवारलाई राहत रकम वितरण सुरु गरिएको छ । 

अवरुद्ध सडक पुनः सुचारु गर्न पहल हुनुका साथै पहिरोको जोखिम रहेका राजमार्गमा सुरक्षा व्यवस्था समेत मजबुद पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?