अखिल क्रान्तिकारीको सम्मेलन असफल भएपछि अध्यक्षमण्डल पुग्यो प्रचण्ड निवास

लोकपथ
385
Shares

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन हुन नसकेपछि अध्यक्षमण्डलले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ ।

बिहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेको टोलीले सम्मेलन सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले अध्यक्षमण्डलले सम्मेलन सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिँदै अध्यक्षमण्डललाई सहयोग गर्न आग्रह गरेका छन् । त्यस्तै दसैँ, तिहार र छठ लगायतका पर्वहरु सकिएपछि लगत्तै नयाँ नेतृत्व चयन हुने समेत उनले बताएका छन् ।

‘आज बिहान मात्रै अध्यक्ष कमरेड प्रचण्डको अगाडि अध्यक्षमण्डलले यो सम्मेलन सफलतापुर्वक सम्पन्न गरेरै छाड्ने दृढ संकल्प व्यक्त गर्नुभएको छ । हामी सबैले अध्यक्ष मण्डललाई सहयोग गरौँ,’ उनले भनेका छन्, ‘नेपालीहरूको चाडपर्वहरू दशैँ, तिहार, छठ, नेपाल सम्वत आदि लगत्तै यो कामले पूर्णता पाउनेमा म विश्वस्त छु । यहाँहरु सबैलाई घटस्थापनाको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

गत असोज १० गते कीर्तिपुरमा अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन उद्घाटन गरेका थिए ।

बाढीपहिरोका कारण एक दिन बन्दसत्र लम्बिएको थियो । तर १४ गतेसम्मका लागि तोकिएको सम्मेलन उमेर हदको विवादका कारण समयमै सम्पन्न हुन नसकेको हो । २८, ३० वा ३२ मध्ये उमेरहद कति राख्ने भन्ने सन्दर्भमा विवाद हुँदा विद्यार्थी नेताहरुबीच लफडा समेत भएको थियो । यता प्रचण्डको सचिवालयले भने सम्मेलन भाँडिएको वा स्थगन नभएको भन्दै बचाउ गरेको छ । बन्दसत्र स्थगन भएको भनेको सम्मेलन भाडिएको वा असफल भएको नभइ व्यवस्थित रुपमा नयाँ काम गर्न खोजेको दाबी मल्लले गरेका छन् ।

‘बन्दसत्र स्थगन भनेको सम्मेलन भाडिएको वा असफल भएको होइन । बरु यसलाई व्यवस्थित रूपमा सम्पन्न गर्न समय लिएको हो । हामी कोहि पनि नबहकिऔ, सम्मेलन असफल भएको दुष्प्रचार नगरौँ । बरु यसलाई कसरी व्यवस्थित रुपमा र विधिसम्मत रुपमा सम्पन्न गर्ने भन्ने बारेमा सोचौं,’ उनको भनाइ छ ।

नेताहरुबीच उमेर हदको विषयमा विवाद भएसँगै अध्यक्षमण्डलले बुधबार विज्ञप्ति जारी गर्दै सम्मेलन स्थगन भएको घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?