गण्डकीमा घटेन डेंगु, साढे ११ हजार संक्रमित

लोकपथ
63
Shares

गण्डकी। गण्डकी प्रदेशमा हालसम्म ११ हजार पाँच सय ९० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गत सेप्टेम्बर महिनामा मात्र ६ हजार चार सय ३४ जनामा डेंगुको संक्रमण देखिएको छ । गत जनवरीमा जम्मा ७० जनामा डेंगु संक्रमण पुष्टि भएकामा त्यसयताका ९ महिनामा संक्रमितको संख्या बढेर साढे एघार हजारभन्दा माथि पुगेको हो । 

मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले गत जुलाईयता डेंगुको संक्रमण दर बढ्दै गएको बताए । जुलाईमा सात सय २८ र अगष्टमा चार हजार ८३ जनामा डेंगु देखिएको उनले जानकारी दिए । सबैभन्दा बढी कास्कीमा पाँच हजार ९ सय २८ र  कम मनाङमा जम्मा दुई जनामा उक्त रोगको संक्रमणको पुष्टि भएको हो । 

शिक्षा अधिकृत शर्माका अनुसार हालसम्म तनहुँमा दुई हजार ७३८, पर्वतमा एक हजार ६३, गोरखामा पाँच सय ९२, बागलुङमा तीन सय ९५, स्याङ्जामा तीन सय ९३, म्याग्दीमा एक सय ८९, नवलपुरमा एक सय ७४, लमजुङमा एक सय आठ र मुस्ताङमा आठ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगुका कारण हालसम्म प्रदेशभित्र तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा कास्कीका चार महिला र एक पुरुष, तनहुँ र म्याग्दीका एक/एक जना पुरुष छन् । 

डेंगुबाट सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिका प्रभावित भएको छ । महानगरको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरमा हालसम्म पाँच हजार आठ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । असारदेखि कात्तिकसम्म डेंगु संक्रमणको बढी जोखिम हुने उनको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको रेग्मीले बताए । 

महानगरपालिकाले लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गरेको भए पनि डेंगु रोकथाम चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ । ‘वर्षा रोकिएको केही दिनपछि डेंगुको संक्रमण फैलने जोखिम उच्च हुने हुनाले समुदायका सबैले सजगता अपनाउनुपर्छ ।’ रेग्मीले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?