दसैँको यात्रु बोकेर काठमाडौंबाट विराटनगर जाँदै गरेको माइक्रो सिन्धुलीमा पल्टियो, १५ घाइते

लोकपथ
448
Shares

काठमाडौं । सिन्धुलीको कमलामाईमा आज शुक्रबार सबेरै भएको माइक्रोबस दुर्घटनामा दसैँका लागि घर जाँदै गरेका १५ जना घाइते भएका छन् । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बा५ख ६६१८ नम्बरको माइक्रोबस आज बिहान करिब साढे चार बजे कमलामाई नगरपालिका– ८ भिमान नजिकै सिस्नेरीमा दुर्घटनामा परेको हो ।

माइक्रोमा सवार १९ जनामध्ये चालक अनुप सुन्दाससहित १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेले जानकारी दिए । घाइतेमध्ये ९ जनालाई थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको काफ्लेले बताए ।

सामान्य ६ जना घाइते भने अन्य सवारी साधनमा चढेर गन्तव्यतर्फ लागेका छन् ।

चालक निदाउँदा अथवा तीव्रगतिको कारण माइक्रो दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ । माइक्रो सडकबाट नालीमा खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?