फोहोरबाट आम्दानी गर्दै महाकाली अस्पताल

लोकपथ
56
Shares

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहोरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहोर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो । 

अस्पतालमा प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पन्जालाई अस्पतालले आम्दानीको स्रोत बनाएको छ । अस्पतालमा फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना गरेर फोहोरलाई मोहरमा परिणत गरेको महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले बताए । ‘अव्यवस्थित फोहोरमैला व्यवस्थापन केन्द्रमा लगेर पुनः प्रयोग गर्न मिल्ने र बिक्री गर्न मिल्ने छुट्याउँछौँ ।’ भट्टले भने– ‘यसले अस्पताल सरसफाइमा टेवा पुग्नुका साथै मासिक  बीस हजारसम्म आम्दानीसमेत हुने गरेको छ ।’

उनकाअनुसार फोहोरमैला व्यवस्थापन केन्द्रबाट अस्पतालले मासिक पन्ध्र हजारदेखि बीस हजारसम्म आम्दानी गर्ने गरेको छ । फोहोर संकलन गरेर संक्रमण हुनसक्ने सामग्रीको निर्मलीकरण गर्ने र फोहोर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने सामग्री सबै छुट्याएर राखिने उनले बताए। ‘कुहिने र नकुहिने तथा जोखिम र बिना जोखिमको सामग्री छुट्याएर बिक्री गर्ने गरिएको छ । ’उनले भने,‘अस्पतालमा एक महिनामा सात/आठ क्विन्टल फोहोर उत्पादन हुने गरेको छ ।यसमध्येको पुनः प्रयोग गर्न मिल्ने आधा भन्दाबढी फोहोर अस्पतालले बिक्री गर्ने गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?