विराटनगर तनावग्रस्त, १० राउण्ड अश्रु ग्यास प्रहार

लोकपथ
322
Shares

विराटनगर । विराटनगर महानगरपालिका–१८ आईसीपी रोडमा तनाव सिर्जना भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रु ग्यास प्रहार गरिसकेको छ ।

बिहीबार बेलुका पौने ७ बजे आईसीपी जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकको ठक्करबाट सोही दिशातर्फ गइरहेका साइकलयात्री विराटनगर–१८ लवाघाटका ६० वर्षीय श्याम साहको मृत्यु भएपछि आज सो क्षेत्रमा तनाव भएको हो ।

सवारी चलाउने चालकलाई कारबाही र परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै मृतकका आफन्तले आन्दोलन सुरुपछि तनाव भएको हो । उनीहरुले सवारी साधन आवतजावतमा अवरोध गरेका छन् । आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ । आन्दोलनको भिड आईसीपी क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको हो ।

प्रहरीले ट्रक चालक सुनसरीको बर्जु गाउँपालिका–५ का ३० वर्षीय दीपक यादवलाई नियन्त्रणमा लिएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?