पहिरोमा परेर ज्यान गुमाएका खेलाडीको घरमै पुर्‍याइयो राहत

लोकपथ
308
Shares

हेटौँडा । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीमा आएको पहिरोमा परेर ज्यान गुमाएका अखिल नेपाल फुटबल संघ एकेडेमीका दुई खेलाडीका परिवारलाई प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका संयोजक तीर्थराज चिलुवालको टोलीले घरमै पुगेर बिहीबार राहत उपलब्ध गराएका छन् ।

सरकारको तर्फबाट प्रजिअ चिलुवालले प्रति मृतकका परिवारलाई २,२ लाख रुपैयाँ चेक हस्तान्तरण गरेका थिए । हेटौँडा उपमहानगरपालिका–१२ का मृतक अनुपम घलानका बाबु ललित घलानलाई दुई लाख रुपैयाँ प्रजिअ चिलुवालले हस्तारन्तरण गरेका थिए । घलान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख हुन् ।

यसै गरी मकवानपुरगढी–४ का मृतक साइमन योञ्जनका बाबु हेमबहादुर योञ्जनलाई चिलुवालले दुई लाख रुपैयाँ हस्तान्तरण गरेका थिए । उक्त राहत रकम हस्तान्तरण गर्न मकवानपुरका सुरक्षा निकायका प्रमुखहरू पुगेका थिए ।

मकवानपुरको सिस्नेरी टेकरका दिवस बानियाँको परिवारलाई शुक्रबार सिस्नेरीस्थित घरमा नै गएर उक्त राहत रकम हस्तान्तरण गर्ने चिलवाल बताए ।

हेटौँडाबाट सिस्नेरी पुग्नु कुलेखानी ड्याम नजिकबाट झन्डै तीन घण्टा पैदल हिँडनु पर्छ । सिस्नेरीको पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको पहिरोले पुरेर मृत्यु भएको थियो ।

मृत्यु हुनेमा मकवानपुरका तीन जना बाहेक अन्य तीन जनामा सर्लाहीका आदित्य बलम्पाखी, काठमाडौंका प्रियान्स आचार्य र निजगढका विकल रेग्मी थिए । इन्द्रसरोवर गाउँपालिका–३, वत्सलादेवी माविमा एन्फाले राखेको यु–१३ क्याम्पका ४० खेलाडीमध्ये ६ जना पहिरोमा परेर ज्यान गुमाएका थिए ।

अविरल वर्षासँगै करिब ३१ वर्षपछि कुलेखानी जलविद्युत आयोजनाको बाध भरिएपछि बाधको ढोका खोल्दा सिस्नेरी खोलाको जल सतह बढेको थियो । खोलाको सतह बढेसँगै खेलाडीलाई सुरक्षित स्थानतर्फ सार्नेक्रममा पहिरोमा परेको एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले बताए  ।

एन्फाले गत वैशाख महिनाबाट सिस्नेरीको टेकरमा होस्टल र आवासीय सुविधासहित एकेडेमी सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?