मुस्ताङको मार्फामा पदमार्ग निर्माण

लोकपथ
21
Shares

म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका –२ मार्फामा पदमार्ग निर्माण गरिएको छ । उद्योग तथा पर्यटन कार्यालय मुस्ताङको  ३० लाख बजेटबाट हिसरुङ गुम्बा र स्याउ उद्यान जोड्ने ढुंगाको सिढी बिछ्याएर पदमार्ग निर्माणका साथै सौन्दर्यकरण गरिएको हो । मार्फा गाउँको शिरमा करिब एक किलोमिटर पदमार्ग निर्माण भएको कार्यालयले जनाएको छ । 

उक्त पदमार्गको डिलमा बत्ती जडान गरेर रातको समयमा झलमल्ल देखिने बनाइएको कार्यालयका प्रमुख प्रेमप्रसाद पौडेलले जानकारी दिए। मुस्ताङ आउने पर्यटकको बसाई लम्बाउने उद्देश्यले पर्यटकीय गाउँ मार्फालाई सौन्दर्यकरणसहित पूर्वाधार निर्माण गरिएको उनले बताए ।  

यसअघि मार्फा देखि स्याउ उद्यान जाने पदमार्ग उकालो र साँघुरो थियो । मार्फाका वडा अध्यक्ष मनबहादुर हिराचनले पदमार्ग बनेपछि मार्फामा आउने पर्यटकहरू स्याउ उद्यान र गुम्बामा भुल्न थालेका बताए ।

गाउँमाथिको पदमार्गको डिलमा जडान गरिएको बत्तीले रातको समयमा मार्फालाई आकर्षण देखाएको उनले बताए । पर्यटकहरूले डिलमा रहेको स्याउ आकृतिको प्रतिमा र स्याउको राजधानी मार्फा गाउँलाई पृष्ठभूमिमा पारेर फोटो, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने गर्छन् । 

सघन सहरी विकास तथा भवन आयोजना बागलुङ मार्फत निर्माणाधीन स्याउ उद्यानदेखि स्याउ बारी र मार्फा गाउँको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । स्याउ बारी, थकालीको रहनसहन, जीवनशैली, मौलिक संस्कार, कला संस्कृति, गुम्बा र गुफा मार्फाको पर्यटकीय आकर्षण हुन् । 

सेतो र रातो माटोले लिपेका झुरुप्प मिलेका मार्फाका घरहरूमा माटोकै छाना र छानामाथि दाउरा चिनेर राखिएको छ । मार्फालीले शताब्दी औँ अघिको मौलिकता बचाएर राखेका छन् । काली गण्डकी नदी किनारको फाँटमा स्याउबारीको हरियाली र कुनातर्फ सुख्खा पहाड छ । 

धौलागिरि हिमाल फेदको धमाङबाट बसाई सरेर आएका लालचन, हिराचन, ज्वारचन र पन्नाचन थरका थकाली समुदायले बस्ती बसालेको एक सय ५० घरधुरीको बसोबास रहेको मार्फामा दलित समुदायको पनि बसोबास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?