ट्राफिक प्रहरीलाई ड्राइभिङ लाइसेन्स जाँच गर्ने डिभाइस हस्तान्तरण 

लोकपथ
140
Shares

काठमाडौं । ट्राफिक प्रहरीलाई नागरिक एपमा भएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को क्यूआर कोड स्क्यान गर्ने डिभाइस हस्तान्तरण गरिएको छ ।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच ट्राफिक प्रहरीलाई सुरुवाती चरणमा १०४ थान फोन हस्तान्तरण गरिएको हो । 

यो व्यवस्था लागू भएसँगै सवारी चालकले नागरिक एपमा रहेको भर्चुअल लाइसेन्स देखाए मात्र पुग्नेछ ।

नेपाल प्रहरीका प्रमुख आइजिपी वसन्त कुँवरले देशभर कूल तीन हजार डिभाइस आवश्यक पर्ने र तत्कालको लागि एक हजार फोन चाहिएको जानकारी दिए । 

उनले भने,‘पूर्ण रूपमा भर्चुअल माध्यमबाट लाइसेन्सको नियमन गर्न ट्राफिक प्रहरीलाई कूल तीन हजार स्मार्टफोनको आवश्यकता छ भने तत्कालको लागि एक हजार फोन चाहिन्छ ।’

डिभाइसको सहायताले ट्राफिक प्रहरीले चालकको नागरिक एपमा भएको ड्राइभिङ लाइसेन्सको क्यूआर कोड स्क्यान गरी विवरण हेर्न सक्नेछन् । कारबाही गर्नुपर्ने अवस्थामा त्यही डिभाइसबाट कारबाहीको अनुरोध गर्ने र त्यसको मेसेज चालकको मोबाइलमा पुग्ने व्यवस्था रहेको छ ।

स्क्यान गरिएको लाइसेन्सको विवरण प्रहरीको ‘टीभीआरएस’प्रणालीमा अद्यावधिक हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?