राहतका लागि एक अर्ब विनियोजन, वीपि बाहेक सबै राजमार्ग सुचारु

लोकपथ
126
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पीडितहरूलाई राहतको लागि सरकारले एक अर्ब रकम विनियोजित गरेको बताएका छन् । 

शुक्रबार पूर्वाधार विकास समितिमा भएको बैठकमा उनले राहतका लागि फन्डको आह्वान गरेको भन्दै नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरुको १५ दिनको तलब दिने निर्णय गरेको पनि बताए । 

उनले भने, ‘राहतको लागि फन्डको आह्वान गरेका छौँ । सरकारले त्यो फन्डमा एक अर्ब पैसा विनियोजित गरिसकेको छ । अरु दाताहरुबाट पनि आह्वान गरिएको छ । मन्त्रिपरिषद्को बैठकबाट मन्त्रीहरूको एक महिनाको तलब दिने भन्ने निर्णय गरेको छ साथै सांसदहरुले पनि नेकपा एमाले र नेपाली कांग्रेसको निर्णय नै गरेका छन् । १५ दिनको तलब दिने भनेको छ । यसमा अन्य पार्टीको पनि सहयोग होला । यसरी फन्ड जम्मा गर्ने काममा पनि लागि रहेका छौँ’। 

यस्तै, उनले वीपि राजमार्गमा फसेका गाडी र मानिसबाहेक सबै उद्धारका कामहरू पनि सम्पन्न भएको बताए । 

उनले भने, ‘उद्धारको काम लगभग सकाएका छाैँ । तर वीपि राजमार्गमा थुप्रै गाडी र मानिस फसेका छन् । ती गाडीहरूलाई उद्धार गर्ने पहिलो काम रहेको छ । यो काम सकेपछि उद्धारका काम सक्छौँ । त्यसपछि मृतकहरूका परिवारलाई दिने क्षतिपूर्तिको कुरामा पनि सरकारले निर्णय गरिसकेको छ । यसपछि राहत र पुनस्थापनाको कुरा छ । पुनस्थापनाको सन्दर्भमा मन्त्रिपरिषद्को बैठक बस्दै छ ।’

यसको साथै, उनले अहिलेलाई वीपी राजमार्ग बाहेक अन्य राजमार्ग सञ्चालनमा ल्याउने तयारीमा रहेको बताए । 

उनले भने, ‘अर्को भनेको पुनः निर्माणको कुरा छ । यसको सन्दर्भमा प्रारम्भिक अनुमान पनि गरेका छौँ । करिब २० देखि २५ अर्ब पैसा पुननिर्माणमा लाग्छ र त्यसमध्ये सबैभन्दा धेरै पैसा वीपी राजमार्गमा लाग्छ । अहिले बाटो खोल्नको लागि मात्र काम गरिरहेका छौँ । अहिलेलाई वीपी राजमार्ग बाहेक अन्य राजमार्ग सञ्चालनमा ल्याउने तयारीमा छाैँ ।’ 

यातायातको विषयमा पनि चाडपर्व केन्द्रित बाटोलाई निर्माण गर्ने बाटोलाई सहज बनाउने भनेर निरन्तर प्रयासमा रहेको उनको भनाई छ । 

बैठकमा असोज ११ र १२ गतेको अविरल वर्षाको कारण राष्ट्रिय राजमार्गहरूमा परेका असर, सोही अविरल वर्षाको कारण जलविद्युत आयोजनाहरूमा परेका असर र सोही कारण कुलेखानी जलविद्युत आयोजनाको ड्यामबाट परेका असरबारे छलफल भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?