दीपक सिलवालको अनसन अन्त्य, हवाई उद्धारबारे समीक्षा

लोकपथ
203
Shares

काठमाडौं । विगत लामो समयदेखि आपत्कालीन हवाई उद्धारलाई प्रभावकारी बनाउन अनसनरत दीपक सिलवालले अनसन अन्त्य गरेका छन् । 

शनिबार गृह मन्त्रालयमा गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिहरुबीच सहमति भएपछि सिलवालले अनसन तोडेका हुन् ।   

ग्रामीण भेगमा नागरिकहरूको स्वास्थ्य उपचारका लागि आपत्कालीन हेली उद्धार तथा संरक्षणको माग राखी २०८१ भदौ २१ गतेदेखि तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–५ का ४२ वर्षीय दीपक सिलवाल आमरण अनशनमा थिए । 

उक्त छलफलमा मानव सेवाको पवित्र प्रयासलाई उच्च सराहना सहित धन्यवाद व्यक्त गर्दै जारी आमरण अनसनलाई सरकारले गम्भीरतापूर्वक लिएको जानकारी गराइएको छ । 

यसको साथै, सरकार गर्भवती तथा सुत्केरी महिलाहरू विपद् एवम् आकस्मिक घटनाहरूका कारण घाइने भई सधन उपचार आवश्यक भएका (तत्काल सडक मार्गबाट उद्धार असम्भव वा सडक मार्गबाट उद्धार गर्दा समय धेरै लागी ज्यान जान सक्ने अवस्था रहेका) हरुको आपत्कालीन हवाई उद्धार गर्नुपर्ने विषयमा संवेदनशील रहेको पनि जानकारी गराइएको छ । 

यसको साथै, छलफलमा हाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट दुर्गम क्षेत्रका ज्यान जोखिममा परेको गर्भवती तवा सुत्केरी महिलाहरूका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७७ बमोजिम गर्भवती तथा सुत्केरी महिलाहरूको उद्धार भइरहेको, गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत विपद् तथा आकस्मिक घटनामा परेकाहरूको आवश्यकता अनुसार हवाई उद्धार भइरहेको, प्रदेश सरकार तथा स्थानीय तहहरूबाट समेत आपत्कालीन उद्धारको समन्वय भइरहेको समीक्षा गरिएको छ ।  

त्यस्तै, संघीय राजधानी काठमाडौका अतिरिक्त पश्चिम क्षेत्रमा सुर्खेत र पूर्वी क्षेत्रमा इटहरीमा देश नेपाली सेनाको हेलिकप्टर आपत्कालीन उद्धारमा प्राथमिकताका साथ उपयोग गर्ने व्यवस्था मिलाइएको समेत समीक्षा गरियो ।

छलफलमा आपत्कालीन हवाई उद्धारलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयले आवश्यक स्रोत साधन र प्रतिबद्ध संयन्त्रको व्यवस्था गरी थप प्रभावकारी बनाउने पनि विश्वास पनि दिलाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?