स्वास्थ्यमन्त्री पौडेलले गरे विपद्पछि स्वास्थ्यकर्मीले गरिरहेको कामको अवलोकन

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपद्पछि स्वास्थ्य संकट निम्तन नदिन स्वास्थ्यकर्मीहरुले गरिरहेको कामको अवलोकन गरेका छन् । 

बाढी र पहिरोका कारण धनजनको क्षति भएको काभ्रेपलान्चोक पनौती र बेथानचोक पुगेका मन्त्री पौडेलले विपद् प्रभावितको उपचार भइरहेको धुलिखेल अस्पतालमा पुगेर बिरामीहरूले निःशुल्क उपचार पाए नपाएको जानकारी लिए । 

मन्त्री पौडेलले उपचाररत बिरामीहरूसँग सेवाबारे जानकारी लिँदै निःशुल्क उपचार पाए नपाएको तथा गुणस्तर कस्तो रह्यो भन्दै बिरामीसँग प्रश्न गरे ।

परिवारका सात जना गुमाएका माइला तामाङसँग परिवारको दुःखप्रति सहानुभूति प्रकट गर्दै उनले उपचार सेवामा कुनै कमी भए भन्न आग्रह गरे । जवाफमा तामाङले भने, उपचार त राम्रो पाइरहेको छु । पैसा तिर्नु पनि परे । तर परिवारका कोही बचेनन् बस्ने घर पनि छैन । सरकारले उपचारपछि जाने ठाउँ पनि खोजिदिए हुन्थ्यो, जवाफमा मन्त्री पौडेलले उपचारको सबै जिम्मा सरकारले लिने भन्दै बाँकी सहयोगका लागि पनि सकेको पहल हुने बताए । 

मन्त्री पौडेलले बिरामीको उपचारका लागि धुलिखेल अस्पतालले पुर्‍याएको सहयोगप्रति धन्यवाद दिँदै अब प्रदूषित पानी तथा फोहोरका कारण संक्रमण फैलनसक्ने भन्दै त्यसलाई रोकथाम गर्न पनि सचेतना फैलाउन र उपचारको तयारी गर्न आग्रह गरे । 

मन्त्रालयले स्वास्थ्य संकट आउन नदिन पानीको शुद्धीकरण र सरसफाइ बढाउन अनि बिरामीको सहज उपचारका लागि आवश्यक हर सम्भव उपाय अपनाउने भन्दै उनले सचेतना फैलाउने काममा तीनै तह मिलेर जान सकिए मात्र सम्भव हुने बताए । 

पनौती १२ भूमि डाँडा कलातीमा पहिरोमा भत्किएको स्वास्थ्य चौकीको विकल्पमा टेन्ट टाँगेर उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई सेवाका लागि धन्यवाद दिँदै मन्त्री पौडेलले नागरिकलाई संक्रामक रोग लाग्न नदिन पानीको शुद्धीकरण र सरसफाइका लागि चाहिने सामग्री आवश्यकताअनुसार उपलब्ध गराउने बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?