घरजग्गा कारोबारीलाई हनी ट्रयापमा पारेको अभियोगमा थप एक महिला पक्राउ

लोकपथ
336
Shares

काठमाडौं । एक जना घरजग्गा कारोबारीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनी ट्रयापमा पारेर रकम असुलेको आरोपमा प्रहरीले थप एक महिलालाई पक्राउ गरेको छ ।

ललितपुरको भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनी ट्रयापमा पारेर रकम असुलेको आरोपमा प्रहरीले पछिल्लो पटक सुनसरीको इटहरी घर भएकी भीमादेवी थापालाई पक्राउ गरेको हो । उनलाई इटहरीबाट काठमाडौं ल्याइसकिएको छ । यसअघि प्रहरीले सुस्मा विक र इटहरी घर भएका ताज मूल इस्लामलाई पक्राउ गरेको थियो ।

सो घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल भने फरार छन् । उनीहरूविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

सो समूहले ललितपुरको साना गाउँका घरजग्गा कारोबारीबाट ३० लाख असुलेको थियो । पछिल्लो पटक पक्राउ परेकी भीमादेवीको खातामा दुई पटकमा २० लाख रुपैयाँ जम्मा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

ती व्यवसायीले आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैंसेपाटीकी इन्चार्ज प्रहरी निरीक्षक बिनु शाही पनि मिलेको आरोप लगाएपछि डीएसपी नरहरि अधिकारी नेतृत्वको छानबिन समिति गठन भएको थियो । समितिको सिफारिसको आधारमा इन्स्पेक्टर शाहीलाई निलम्बन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?