बाढीपहिरोबाट घाइतेहरुलाई सहज रुपमा रगत उपलब्ध गराउन तरुण दलद्वारा रक्तदान

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको आयोजनामा रक्तदान सम्पन्न भएको छ ।

बाढीपहिरोका कारण घाइते भएकाहरुका लागि सहज रुपमा रगत उपलब्धता गराउने उदेश्यले तरुण दलले रक्तदान गरेको हो ।

आइतबार दिउँसो त्रिचन्द्र कलेजमा नेपाल तरूण दल केन्द्रीय निर्देशन समिति संयोजक समेत रहेकी पार्टीकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा रक्तदान सम्पन्न भएको हो ।

करिब १४० जना भन्दा बढी व्यक्तिहरुले रक्तदान गरेको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं तरुण दलका केन्द्रीय सदस्य जयराम दाहालले जानकारी दिए ।

बाढीपहिरो लगायत डेंगुको प्रकोपका कारण अस्पतालहरुमा रगत अभाव हुन नदिन र उपचारमा रहेकाहरुलाई सहज रुपमा रगतको उपलब्धताका लागि रक्तदान गरिएको दाहालको भनाइ रहेको छ । साथै बाढीपहिरो लगायत प्राकृतिक विपत्तिमा तरुण दलले सधैँ अग्र मोर्चामा खटिएर काम गरिरहेको बताउँदै आगामी दिनमा पनि आफूहरुले थप रचनात्मक काम गर्ने उनले बताए ।

‘हामी प्राकृतिक विपत्तिको समयमा सधैँ अग्र मोर्चामा रहेर काम गरिरहेका छौँ । आज मात्रै होइन विभिन्न ठाउँहरुमा तरुण साथीहरुले रक्तदानको अभियान चलाइरहनु भएको छ । आगामी दिनमा हामी थप रचनात्मक रुपमा अघि बढ्नेछौँ,’ दाहालले भने ।

नेपाल तरुण दलका केन्द्रीय सदस्य रोजन राईको संयोजकत्वमा रक्तदान सम्पन्न भएको हो । रक्तदानमा सहभागि भएकाहरुलाई प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो । यसअघि पनि तरुण दलले विभिन्न स्थानमा रक्तदानमार्फत रगत संकलन गर्दै समस्यामा परेकाहरुलाई सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?