प्रधानमन्त्री राहत कोषमा एमालेले दियो ५० लाख

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज ५० लाख हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले उक्त चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए । उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट गरे ।

एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा पचास लाख र सांसदहरुको आधा महिनाको तलब बराबरको रकम बेग्लै प्रदान गर्ने निर्णय गरेको थियो ।

सो अवसरमा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुबीर महासेठलगायतका नेताहरु सहभागी रहेका थिए ।

त्यसो त आजै नेकपा एमालेले पनि सरकारलाई ५० लाखको चेक हस्तान्तरण गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु प्रधानमन्त्री कार्यालय पुगेर सहयोग रकम उपलब्ध गराएका हुन् । साथै कांग्रेसले सरकारलाई ३४ बुँदे ध्यानाकर्षणपत्र समेत बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?