काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपालको समग्र विकासका निम्ति जनप्रतिनिधीहरुले राजनीतिक भेदभावरहित राष्ट्र सेवाभाव राखेर काम गर्नुपर्ने तर्क गरेका छन् । सक्सेस मिडिया र यात्रा प्लसको संयुक्त आयोजनामा नेपाल पर्यटन बोर्डमा भएको ‘एचिभर्स अवार्ड ‘२०२४’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
हाम्रा कतिपय जनप्रतिनिधि विशेषगरी मन्त्रीज्यूहरूको कार्यशैली देखेर मलाई अनौठो लाग्छ । चुनावमा पनि जनताका लागि काम गर्छु भन्ने, मन्त्री बन्ने बेलामा पनि राष्ट्र, राष्ट्रियता र जनताका पक्षमा निस्वार्थ काम गर्छु भन्ने अनि पदमा पुगेपछि राजनीतिक रङ्ग हेरेर काम गर्ने गर्नुहुन्छ’, राज्यमन्त्री चौधरीले भने, ‘म त के भन्छु भने मन्त्रीको पदमा पुगेको मान्छे साझा हुनुपर्छ । त्यहाँ पुगेपछि पनि कुन पार्टीबाट आएको ? भनेर राजनीतिक नजरबाट मात्रै हेर्ने र एक अर्कासँग आवश्यक समन्वय नगर्ने हो भने मुलुकको विकास र रूपान्तरणले फड्को मार्न सक्दैन । त्यस्ता व्यक्ति साँच्चै भन्नुपर्दा देश विकासको बाधक हुन् ।’
यस्तै उनले, नेपालको पर्यटन प्रवर्द्धन तथा विकासका लागि हरेक क्षेत्रका व्यक्तिहरूसँग सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन् । ‘नेपालको जस्तो अनौठो र विविधताले भरिएको प्राकृतिक, सांस्कृतिक, धार्मिक सँगसँगै विविध विविधता र गतिविधिहरूको धनी विश्वका कुनै देशमा छैनन् । त्यसैले मलाई लाग्छ विश्वका कुनै पनि देशले नेपालको पर्यटनसँग प्रतिस्पर्धा गर्न सक्दैन ’ राज्यमन्त्री चौधरीले भने, ‘यहाँको पर्यटकीय क्षेत्रलाई ब्रान्डिङ गर्न सके नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने र देशको आर्थिक संवृद्धि हुनेछ । त्यसका लागि हरेक क्षेत्रका व्यक्तित्वहरूको योगदान महत्त्वपूर्ण रहन्छ । त्यसैले सरकारको तर्फबाट मैले सधैँ सकारात्मक सहकार्य गर्नेछु ।’
कार्यक्रममा कलाकारिता, बैंकिङ, चिकित्सा, मिडिया, व्यवसायी तथा खेल क्षेत्रका व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको थियो । राज्यमन्त्री चौधरीले अवार्ड पाउनेहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया