काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने गरी काम गर्नुपर्ने बताएका छन् ।
सोमबार बिहान बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल दलित संघका नेताहरुसंगको भेटमा बोल्दै डा.कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने भएकाले सोहीअनुसारको तयारी गर्न नेता एवं कार्यकर्ताहरूलाई आग्रहसमेत गरे ।
‘कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने हो । त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला । दसैँ तिहारको रमाइलोमा मात्रै होइन जनताको सुख दुखमा पनि पुग्नुस्, दसैँको शुभकामना,’ डा.कोइरालाले भने ।
कांग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५औँ महाधिवेशन पर्खनुपर्ने बताए ।
‘१५औँ महाधिवेशन पछि यस्तो धारणा हटेर जान्छ । इमानदार र योग्य जो कोहीले अवसर पाउँछ भन्ने मान्यता १५औँ महाधिवेशनपछि स्थापित गरी छाड्छौ,’ उनको भनाइ थियो ।
सो अवसरमा दलित संघका केन्द्रीय सदस्य मुक्त बहादुर महतेले नेता कोइरालासँगको भेटमा दलित संघको आगामी गतिविधि, राजनीतिमा दलित समुदायको निर्णायक उपस्थिति लगायतका विषयमा छलफल भएको जानकारी दिए ।
सो क्रममा सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरू सरिता प्रसाईँ, प्रकाश स्नेही, सञ्जय गौतम, सांसद सीता मिजार लगायत उपस्थित थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया