दसैँ : फजुल खर्च कटाएर सेयर बजारमा लगानी गर्ने कि !

लोकपथ
161
Shares

काठमाडौं । यतिबेला दसैँको माहोलले गाउँ शहरलाई छपक्कै छोपिसकेको छ । सबै परिवार एकै ठाउँमा जम्मा भएर मीठो खाने, राम्रो लगाउने अनि रमाइलो गर्ने पर्व हो, दसैँ । अस्तव्यस्त जनजीवनलाई केही समय थाती राख्दै बोझको भारी बिसाउने चौतारी पनि हो, दसैँ ।

दसैँमा अघिकांश मानिसहरू फुर्सदिला हुन्छन् । त्यसैले सबैजना एकै ठाउँमा भेला भएर तास खेल्ने अनावश्यक खर्च गर्ने प्रवृत्ति पनि व्यापक हुने गर्छ । धेरै मानिसहरू दसैँलाई देखासिकीको रूपमा लिने गर्छन् । जुवातास र जाँडरक्सीमा आवश्यकता भन्दै फजुल खर्च गरिरहेका हुन्छन् । त्योभन्दा म के कम भन्ने घमण्डका कारण पनि मान्छेहरू चाडपर्वको बेला आवश्यकताभन्दा बढी खर्च गरिरहेको हुन्छन् ।

तर, फुर्सदको समयलाई सदुपयोग गर्ने हो भने यो जीवनकै लागि राम्रो अवसर पनि बन्न सक्छ । पछिल्लो समय सेयर बजारको चर्चा परिचर्चा नसुन्ने सायदै होलान् । चियाघर, कलेज अनि गल्ली–गल्लीमा युवाहरू भेट हुँदा सेयर बजारको चर्चा चल्ने गरेको छ ।

सेयर बजार यस्तो माध्यम हो, जहाँ घरमै बसीबसी गरेको लगानीलाई हजारबाट लाख र लाखबाट करोड बनाउन सकिन्छ । तर यसको लागि सेयर बजारको बारेमा भरपुर अध्ययन भने गर्नुपर्ने हुन्छ ।

दसैँमा सेयर बजारको अध्ययन गर्नुहोस्

हामी फुर्सदको समय यतिकै खेर फालिरहेका हुन्छौँ । रमाइलो र मोजमस्तीमै फुर्सदको समय गुजारिरहेका हुन्छौँ । यो महत्वपूर्ण समयलाई अध्ययनतर्फ समय खर्चने हो भने जीवनलाई अस्तव्यस्त र अव्यवस्थित बनाउनै पर्दैन ।

त्यसैले दसैँ बिदामा सेयर बजारको बारेमा पनि जानकारी लिनु असाध्यै राम्रो हुन्छ । सेयर बजारको अध्ययन गर्नको लागि विभिन्न माध्यमहरू छन् । सेयर बजारका बारेमा विभिन्न पुस्तक, मुभिहरू त्यसैगरी सेयर बजारसम्बन्धी अन्तर्वार्ता हेर्न सकिन्छ । साथै इन्टरनेटको जमानामा अहिले गूगलमा प्रशस्तै सामग्रीहरु पढ्न र हेर्न पाइन्छ ।

पछिल्लो युवापुस्ताहरू सेयर बजारतर्फ आकर्षित हुन थालेका छन् । फुर्सदको समयमा तपाईँ पनि सेयर बजारको अध्ययन गरेर सक्रिय रूपमा लगानी गर्न सक्नुहुन्छ । बुझेर गरिएको लगानीले अवश्य राम्रो प्रतिफल दिन्छ ।

दसैँको दक्षिणलाई सेयर लगायत अन्य क्षेत्रमा लगानी

दसैँ भन्नेबित्तिकै दक्षिणाको कुरा आइहाल्छ । दसैँमा ठूलाबडाले आफूभन्दा सानालाई दुर्गा भवानीको प्रसाद लगाइदिएर दक्षिणा दिने सदियौँदेखिको प्रचलन छ । विशेषगरी छोरीचेलीहरूलाई अग्रजहरूले दक्षिणा स्वरूप टीका लगाएर पैसा दिने प्रचलन रहेको छ । कतिपय व्यक्तिहरू दक्षिणालाई यतिकै अनावश्यक खर्च गरेर सिध्याउने गर्छन् ।

दक्षिणाको सदुपयोग गर्ने उपयुक्त माध्यम सेयर बजार हुनसक्छ । विभिन्न कम्पनीहरूले आईपीओ जारी गरिरहेका हुन्छन् । आईपीओ भर्नको लागि त्यति ठूलो रकमको आवश्यकता पर्दैन । तपाईँले मात्र एक हजार रुपैयाँमा आईपीओ भर्न सक्नुहुन्छ । त्यसको लागि मात्र डिम्याट एकाउन्ट खोले पुग्छ । आफ्नो खाता रहेको बैंकको शाखामा गएर तपाईँले सजिलै डिम्याट खाता खोल्न सक्नुहुनेछ ।

अहिलेसम्म आईपीओ भर्नुभएको छैन भने आईपीओ भर्न थालिहाल्नुस् । अझ दसैँको दक्षिणालाई आईपीओमा लगानी गर्ने हो भने एक हजारको लगानीले ५० हजारसम्म कमाइ हुनसक्छ । तपाईँको हजारको लगानी केही नभए पनि ५ हजार त बन्छ नै । त्यसकारण दसैँमा जम्मा भएको दक्षिणालाई लगानी गर्नुहोस् । फेरि पछिल्लो समय आईपीओ नखुलेको भन्ने प्रश्न उठ्न सक्छ । त्यसका लागि सेकेन्डरी मार्केटबाट थोरैथोरै लगानी समेत गर्न सकिन्छ ।

दसैँमा हुने फजुल खर्चलाई बचत गरेर सेयर बजारमा लगानी गर्ने हो भने निकट भविष्यमै राम्रो आम्दानी गर्न सकिन्छ । तर सेयर बजारमा लगानी गर्नुपूर्व भने विभिन्न कुराको ख्याल राख्नुपर्ने हुन्छ । अध्ययन गरी सुझबुझपूर्ण लगानी गर्नुपर्छ ।

के–के कुरामा ध्यान दिने ?

सेयर बजारमा प्रवेश गर्नुपूर्व अध्ययन गर्नु अति आवश्यक हुन्छ । सेयर बजार अति संवेदनशील ठाउँ हो । सेयर बजारमा हल्लाले ठूलो प्रभाव पार्छ । सेयर बजारमा प्रवेश गर्नुपूर्व लगानीकर्ताले कम्पनीको वित्तीय अवस्थाको बारेमा अध्ययन गरेर मात्र प्रवेश गर्नुपर्ने सेयर बजारबारे जानकारहरु बताउँछन् ।

जो भर्खरै सेयर बजारमा प्रवेश गर्न चाहिरहेका छन् उनीहरूले कम्पनीको वित्तीय अवस्थाको बारेमा अध्ययन गर्नुपर्ने हुन्छ । कम्पनीको प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, नाफालगायत कुराहरूको अध्ययन गर्नुपर्ने हुन्छ ।

बजारमा नयाँ लगानीकर्ताहरू भित्रिने क्रम बढ्दो छ । कतिपय नयाँ लगानीकर्ताहरूलाई बजारमा कसरी लगानी गर्ने, कसरी प्रोफिट बुक गर्ने, कसरी सेयर बजारबाट मन्यग्य कमाउने, घाटा हुनबाट कसरी बच्ने ? यसबारे थाहा नहुन नि सक्छ । किनभने उनीहरू हल्लाको भरमा बजारमा लगानी गरिरहेका हुन्छन् । पछिल्लो समय बजार हल्लाको भरमा चलिरहेको छ । जसले गर्दा बजारमा जोखिम पनि बढिरहेको छ । त्यसैले सेयर बजारमा लगानी गर्नुपूर्व धेरै कुरामा विचार पु¥याउनुपर्ने हुन्छ ।

अहिले सेयर बजार बुलिस ट्रेण्डमा गइरहेका बेला सेयर बजारमा लगानी गर्ने भन्ने बित्तिकै धेरै मानिसहरुमा नकारात्मक धारणा उत्पन्न हुन सक्छ । तर बुझेर लगानी गर्नेहरुले सेयरबाट राम्रो आम्दानी गरिरहेको हामीले देखेका छौँ । त्यसकारण सेयर बजार मात्र होइन अन्य माध्यममा लगानी गरेर आफूलाई स–साना क्षेत्रमा लगानी गर्न तयार बनाउनुहोस् जसले निकट भविष्यमा राम्रो प्रतिफल दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?