काठमाडौं । दसैँ र दक्षिणा एक अर्काका परिपूरक जस्तै हुन् । परापूर्वकालदेखि दसैँमा आफ्ना मान्यजनहरुको हातबाट टीका जमरा र आशिर्वाद ग्रहण गर्ने प्रचलन रहिआएको छ । नेपालीहरुले धेरै खर्च गर्ने चाडहरुमध्ये दसैँ पनि एक हो ।
घरका साना बालबालिकाहरुका लागि दसैँ विशेष महत्वपूर्ण हुने गरेको छ । कारण हो– दक्षिणा । दक्षिणा कति उठ्छ, मामाघरमा यति दिनुभयो आदि इत्यादी कुराले पनि उनीहरुलाई छुट्टै रमाइलो हुने गरेको छ । तर, त्यो दक्षिणा सदुपयोग गर्न भने धेरैले जानेका हुँदैनन् । दक्षिणालाई जोगाएर राख्ने मन हुँदा पनि खर्च भइरहेको हुन्छ । तपाईँ हामीसँग धेरै पैसा हातमा पर्यो भने हामी त्यसलाई आवश्यक मात्र होइन अनावश्यक क्षेत्रमा समेत खर्च गरिरहेका हुन्छौँ, त्यो मध्ये एक हो दक्षिणा पनि । हुन त फेरि दक्षिणा भन्ने बित्तिकै व्यापकै धेरै हुन्छ भन्ने होइन । परम्परा धान्नका लागि दिइने नगद न हो, थोरैदेखि धेरैसम्म हुनसक्छ । तर त्यही स–सानो पैसालाई जम्मा गरेर बढाउँदै लैजान सके त्यसले निकट भविष्यमा ठुलै रकम जम्मा गर्न सक्छ ।
दसैँको दक्षिणालाई यसरी सदुपयोग गर्न सकिन्छ :
दसैँको दक्षिणालाई जीवनका महत्वपूर्ण घडीमा काम लाग्ने स्थानमा लगानी गर्न सकिन्छ । तर, त्यसका लागि के गर्ने त ?
बैंकमा खाता खोलेर जम्मा गरेर राख्ने
दसैँको दक्षिणाको सदुपयोग गर्न बैंकमा खाता खोल्नुहोस् र आफ्नो पैसा त्यसमा जम्मा गर्नुहोस् जसले तपाईँको पैसालाई जोगाएर त राख्छ नै तपाईँलाई पैसा जोगाउन पनि सिकाउँछ ।
सानै रकमबाट सामान्य बचत सुरु गर्न पनि सकिन्छ । आजको बचत नै भविष्यको सारथी हो । त्यसैले दसैँमा जम्मा भएको दक्षिणा बैंकमा जम्मा गर्नुहोस् ।
बीमा गर्ने
दसैँमा जम्मा भएको रकमबाट बीमा गर्न पनि सकिन्छ । बीमा गर्नका लागि ठुलै रकम चाहिन्छ भन्ने छैन । आफूलाई उपयुक्त हुने बीमा योजना छनौट गर्न पनि सकिन्छ । दसैँपछिको अवधिलाई बीमा शुल्क भुक्तान गर्ने अवधि बनाएर दसैँमा जम्मा भएको दक्षिणा पनि त्यसैमा समावेश गर्न सकिन्छ ।
सेयरमा लगानी
दसैँमा जम्मा भएको रकम शेयर बजारमा पनि लगानी गर्न सकिन्छ । सेयर बजारमा लगानी गर्नका लागि ठुलै पुँजी चाहिन्न । सानो रकमबाट पनि सेयर बजारमा लगानी गर्न सकिन्छ ।
पुस्तकमा लगानी
अध्ययन यस्तो कुरा हो, जसले कसरी धनी बन्ने भन्ने समेत सिकाउँछ । आज विश्वका प्रभावशाली व्यक्तिहरु अध्ययनकै कारणले नै प्रभावशाली बन्न सकेका हुन् । त्यसैले दसैँको दक्षिणा मात्र होइन अन्य फजुल खर्च समेत कटाएर त्यसलाई पुस्तकका लगानी गर्न सके हामीलाई सफल बनाउने माध्यम बन्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया