काठमाडौं । प्रहरीले काठमाडौंको कलंकीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, पक्राउ पर्नेमा दोलखाको बिगु गाउँपालिका–४ घर भई कलंकी बस्ने ३५ वर्षीया सावित्री वली र काठमाडौं न्यूरोड बस्ने २५ वर्षीय सुरेश वली छन् ।
शंकास्पद कारोबार भइरहेको सूचनापछि परिसरबाट गएको टोलीले सावित्रीलाई फेला पारेर जाँच गर्दा उनीबाट १५ लाख रुपैयाँ नगद बरामद भएको एसपी अधिकारीले बताए ।
एसपी अधिकारीका अनुसार, सावित्री उक्त रकम बैंकमा जम्मा गर्न हिँडेको र सोधपुछ गर्दा सो रकम भारतीय नागरिकको रहेको बताएपछि पैसा बरामद गरिएको हो । त्यसपछि प्रहरीले सुरेशलाई समेत कार्यालयबाट नियन्त्रणमा लिएको थियो । उनको साथबाट चार लाख रुपैयाँ बरामद गरिएको थियो ।
सावित्रीले आफू एक वर्षदेखि न्यूरोडमा काम गर्ने गरेको प्रहरीसमक्ष बताएकी थिइन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया