काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले अक्सनबाट कर्णाली प्रदेशका तीन खेलाडी टोलीमा समावेश गरेको छ ।
आइतबार काठमाडौंमा भएको नेपाल प्रिमियर लिग (एनपिएल)को अक्सनबाट कर्णाली याक्सले १० खेलाडी खरिद गर्दा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै घरेलु क्रिकेट खेलिसकेका तीन खेलाडी टोलीमा समावेश गरेको हो ।
अर्जुन घर्ती, युनिशविक्रम सिंह ठकुरी र दीपेन्द्र रावत कर्णालीका हुन् । अर्जुन ‘बी’ श्रेणीका हुन् भने युनिश र दीपेन्द्र ‘सी’ श्रेणीका हुन् ।
कर्णाली याक्समा निर्देशक सह–मालिक गृहेन्द्र घिमिरेले योजनाअनुसार नै कर्णालीका खेलाडी टोलीमा समावेश गरेको बताएका छन् ।
उनले भने, ‘कर्णाली याक्सले कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दा स्थानीय खेलाडीलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने थियो । हाम्रो योजनाअनुसार नै तीन खेलाडी समावेश गरेका छौँ ।’
निर्देशक गृहेन्द्र घिमिरेले केही खेलाडी छुट्न गएको स्मरण गर्दै उनीहरूलाई टोलीमा समावेश गर्ने तयारी भएको बताएका छन् ।
उनले भने, ‘हामीसँग अझै पनि एक स्थानीय खेलाडी ल्याउने बाटो खुल्ला छ । छुटेकालाई त्यसबाट समावेश गर्छौ ।’
ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । टोलीले ए श्रेणीबाट गुल्शन झा, देव खनाल र नन्दन यावदलाई टोलीमा समावेश गरेको छ ।
त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्ती सहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।
कर्णाली याक्सले दश खेलाडी खरिद गर्दा ७४ लाख खर्च गरेको छ । यसअघि हिमालयन विल्डर्स एन्ड इन्जिनियर्स एक करोड ११ लाखमा कर्णाली याक्सा स्वामित्वमा लिएको थियो ।
निर्देशक गृहेन्द्र घिमिरेले चार विदेशी कोटामा विश्व चर्चित खेलाडी समावेश गर्दै टोली बलियो बनाउने जानकारी गराएका छन् ।
उनले भने, ‘अक्सनबाट अनुबन्ध भएका नेपाली खेलाडी निकै राम्रा देखिन्छन् । अब, विश्व चर्चित विदेशी खेलाडी अनुबन्ध गर्दै टोली थप बलियो बनाउँछौँ र उपाधि जित्न खेल्नेछौँ ।’ एनपिएल १५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया