काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले ठुलो परिमाणमा लागूपदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङको घोराही १८ बाट करिब ५० किलो लागूपदार्थसहित तीन जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी ईश्वर थापाका अनुसार प्रहरीले चरेस जस्तो देखिने ३८ किलो ९७२ ग्राम र अफिम जस्तो देखिने ११ किलो १८० ग्राम लागूपदार्थसहित तीन जनालाई मङ्गलवार घोराहीबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका ४ का ३७ वर्षीय सुविन्द्र पुन, सोही स्थानका ५१ वर्षीय चेतन बुढा र रुकुम पूर्वकै भूमे गाउँपालिका स्थायी ठेगाना भई दाङको घोराही १८ मा रहेको मसिना भन्ने स्थानमा डेरा गरी बस्ने ४२ वर्षीय बिनी पुन रहेका छन् ।
रुकुम र रोल्पामा उत्पादन हुने गरेको लागूपदार्थ दाङ र दाङ हुँदै अन्य जिल्ला र भारतमा समेत अवैध रूपमा तस्करी सुरु भएपछि दाङ प्रहरीले लागूऔषध कारोबारी र प्रयोगकर्ताविरुद्ध अपरेसन चलाएको थियो । सोही क्रममा असोज २२ गते केही व्यक्तिहरूले लागूऔषध बोकी कारोबार गर्नका लागि हिँडेका छन् भन्ने सूचना आएपछि परिचालित प्रहरीले ठुलो मात्रामा लागूपदार्थसहित कारोबारीलाई पक्राउ गरेको हो ।
असोज २२ गते मङ्गलवार अपराह्न २ बजे सुविन्द्र पुन र चेतन बुढा लागूऔषध बोकी हिँडिरहेको भन्ने सूचना आएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट डिएसपी ईश्वर थापाको कमान्डमा १० जनाको प्रहरी टोली परिचालित भएको थियो । सुविन्द्र पुन र चेतन बुढा बाटोमा झोला बोकी हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिँदा सुविन्द्र पुनले बोकेको निलो रङको प्लास्टिकको झोलाभित्र सेतो प्लास्टिकको दुई वटा पोका फेला परेको थियो । उक्त पोकाभित्र अफिम जस्तै देखिने कालो लेदो भएको लागूपदार्थ फेला परेको थियो ।
उक्त लागूपदार्थ कहाँबाट ल्याएको भन्ने सम्बन्धमा सोधपुछ गर्दा रुकुम पूर्वको भूमे गाउँपालिका स्थायी ठेगाना भई दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनामा डेरा गरी बस्ने बिनी पुनबाट खरिद गरी ल्याएको बयान दिएका थिए । पक्राउ परेकाहरूको पोल बयानकै आधारमा प्रहरी तत्कालै आरोपित बिनी पुनको कोठामा पुगी खानतलासी गर्दा कोठाको भान्सामा बोरा तथा प्लास्टिकभित्र लुकाई राखेको अवस्थामा अफिम जस्तो देखिने खैरो कालो पदार्थ र चरेस जस्तो देखिने खैरो लागूऔषध बरामद भएको थियो ।
बरामदित लागूपदार्थको तौल गर्दा चरेस जस्तो देखिने लागूऔषध ३८ किलो ९७२ ग्राम र अफिम जस्तो देखिने लागूऔषध ११ किलो १८० ग्राम रहेको प्रहरीले जनाएको छ । प्रहरीले लागू औषधसँगै लागूऔषध जोख्ने डिजिटल तराजु, लागु औषध प्याकिङ गर्न प्रयोग गर्ने प्लास्टिकको झोलाहरू र लागू औषध प्याकिङ गर्दा प्रयोग गरिने पहेँलो र खैरो रङको टेप तथा कैँचीसमेत बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान गर्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखिएको छ । बरामद भएको अवैध लागूऔषधको बजारमूल्य करिब ३० लाख रुपैयाँ रहेको प्रहरीको दाबी छ ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण लम्सालले केही दिनअघि मात्रै प्रहरीलाई लागूऔषध कारोबारी र प्रयोगकर्ताविरुद्ध निर्मम भएर लाग्न निर्देशन दिएका थिए । पछिल्लो समय दाङ लागूऔषध कारोबारी र प्रयोगकर्ताको हब बन्दै गएको भन्दै प्रमुख जिल्ला अधिकारी लम्सालले प्रहरीलाई लागूऔषधका सम्बन्धमा आक्रामकरूपमा प्रस्तुत हुन निर्देशन दिएका थिए । त्यसपछि दाङ प्रहरी लागूऔषध कारोबारी र प्रयोगकर्ताविरुद्ध आक्रामकरूपमा प्रस्तुत भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया