बुद्ध एयरको जहाजमा यात्रुले आपतकालीन ढोका खोलेपछि…

लोकपथ
2.8k
Shares

काठमाडौं । उडानको क्रममा रहेको जहाजको इमरजेन्सी ढोका खोलेपछि एक यात्रु पक्राउ परेका छन् । बुद्ध एयरको उडान भर्न ठिक्क परेको अवस्थामा रहेको विमानको आपतकालीन ढोका यात्रुले अनाहकमै खोलिदिएपछि पक्राउ परेका हुन् ।

बिहीबार बिहान विराटनगरबाट जनकपुरका लागि उडेको बुद्ध एयरको विमानको इमरजेन्सी ढोका यात्रुले अनाहकै खोलेपछि उडान सेवा मात्रै अवरुद्ध भएन, यात्रुलाई समेत नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको छ ।

काठमाडौंबाट नियमित उडानका लागि बिहान ५:३० बजे जनकपुर उड्नुपर्ने विमान ३५ मिनेट ढिला गरी बिहान ६:०५ बजे जनकपुरका लागि उडेको थियो । बुद्ध एयरको यु फोर ५०५ नम्बरको उडान जनकपुरका लागि भए पनि बिहान जनकपुरको मौसम सफा नभएपछि डाइभर्ट गरी विराटनगरमा अवतरण गरिएको थियो ।

केही समय विराटनगरमा होल्ड भएर विमान उड्नै लाग्दा यात्रुले विमानको आपतकालीन ढोका खोलेपछि विमान उडानमा रोक लगाइएको थियो । त्यसपछि काठमाडौंबाट विमानका प्राविधिक समेत यति बेला विमानको सम्पूर्ण चेकजाँच भइरहेको छ । एक यात्रुको अस्वाभाविक हर्कतका कारण जनकपुर पुग्नुपर्ने अन्य यात्रुसमेत विराटनगरमै होल्ड भएका छन् । अनाहकमै विमानको आपतकालीन ढोका खोल्ने यात्रुलाई भने प्रहरीको जिम्मा लगाइएको बुद्ध एयरले जनाएको छ ।

बुद्ध एअरका अनुसार यात्रुले अनाहकमा आपतकालीन ढोका खोलेपछि एयरलाइन्सको अन्य उडान तालिकासमेत प्रभावित बनेको छ । अहिले बुद्ध एयरको उडान तालिका औसतमा डेढ घण्टाले ढिलाइ भइरहेको छ ।

तीन वर्षसम्म कैद हुनसक्ने
यात्रुले अनाहकमै विमानका आपतकालीन ढोका खोलेपछि हवाई सुरक्षामा प्रतिकुल प्रभाव परेको कारण ती यात्रुलाई जेल सजायसमेत हुन सक्नेछ । गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५ मा हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई एक देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरि जन्मकैदसम्मको सजाय हुने प्रावधान छ । सोही कानुन अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको बुद्ध एयरले जनाएको छ ।

९ दिनमा ३ पटक यात्रुले खोले आपतकालीन ढोका
पछिल्लो ९ दिनको समयमा बुद्ध एयरको उडानमा तीन पटक यात्रुले आपतकालीन ढोका खोलेको पाइएको छ । गत अक्टोबर २ मा विराटनगरबाट काठमाडौं उडानको क्रममा र ७ अक्टोबरका दिन नेपालगन्जबाट काठमाडौं उडानका क्रममा पनि विमानको आपतकालीन ढोका यात्रुले खोलिदिएका थिए ।

विमान उडानको अगावै परिचारिकाले आपतकालीन ढोकाको प्रयोगबारे विस्तृतमा जानकारी गराएका हुन्छन् । आपतकालीन अवस्थाबाहेक अन्य समयमा विमानको ढोका खोल्न मिल्दैन । उडान सुरक्षालाई खलल पुराउने भएकाले कसैले यस्तो गरेमा कारबाही हुन्छ ।

यात्रुलाई उडानमा प्रतिबन्धसमेत हुन सक्ने
अनाहकमै विमानको आपतकालीन ढोका खोलेर उडान सुरक्षामा खलल पुर्‍याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा प्रतिबन्ध समेत लगाउन सक्छन् । हवाई सुरक्षामा खलल पुर्‍याएको पुष्टि भएमा त्यस्ता यात्रुलाई जीवनभर उक्त कम्पनीको विमान वा अन्य कम्पनीमा समेत उडानमा प्रतिबन्ध लाग्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?