एउटा यस्तो क्लिनिक, जहाँ निःशुल्क परामर्श, ल्याब टेस्ट र औषधि पाइन्छ (भिडियोसहित)

काठमाडौं । नेपालको औषधि उपचार कति महँगो र झन्झटिलो छ भन्ने विषयमा त हामी सबै जानकार नै छौँ । पैसा तिर्छु भन्दा पनि समयमै उपचार नपाइने मात्रै होइन, महँगो मूल्यमा औषधि खरिद गर्न हामी बाध्य छौँ । महिनौँ दिनसम्म पालो कुरेर घण्टौँ लाइनमा बस्दा पनि भनेजस्तो स्वास्थ्य सेवा पाउन मुस्किल छ । तर काठमाडौंमै एउटा यस्तो क्लिनिक छ, जहाँ निःशुल्क स्वास्थ्य परीक्षण, ल्याब टेस्ट र औषधीसमेत पाइन्छ ।

हो, हामीले कुरा गर्दै गरेको क्लिनिक पेप्सीकोलामा रहेको छ र त्यसको नाम आरु क्लिनिक हो । नेपालमा पेप्सीको नामले परिचित बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजद्वारा सामाजिक उत्तरदायित्व अन्तरगत सञ्चालित क्लिनिक हो यो । बयोधा अस्पतालको व्यवस्थापनमा २०८० साल असोज १० गतेबाट सञ्चालनमा आएको यस क्लिनिकमा दैनिकरुपमा बिरामीको चेकजाँच, ल्याब परीक्षण हुँदै निःशुल्क औषधीसमेत दिइन्छ । विशेषज्ञ चिकित्सकबाट दैनिकरुपमा अधिकतम ८० जनासम्म बिरामीले यस क्लिनिकबाट निःशुल्क सेवा पाइरहेका छन् ।

निःशुल्क, त्यसमा पनि व्यवस्थित र हजारौँ तिरेर लिएको सेवा भन्दा राम्रो सेवा पाइने क्लिनिकमा आउने सेवाग्राहीको प्रतिक्रिया छ । निःशुल्क परामर्श, निःशुल्क ल्याब परीक्षण र औषधीसमेत निःशुल्क पाइने भए पनि लामो समयसम्म आम नागरिकलाई त्यसबारेमा जानकारी नै थिएन । अहिले भने धेरैले यस क्लिनिकको बारेमा जानकारी मात्रै पाएका छैनन्, सेवा लिन बिहानै क्लिनिकमा पुगेर टिकट काट्नेहरू छन् । शनिवार बाहेक हरेक दिन बिहान ९ बजेदेखि ५ बजेसम्म फिजिसियन डाक्टरको सल्लाह तथा परामर्शमा यहाँ चेकजाँच र औषधीसमेत वितरण गरिन्छ ।

सेवाग्राहीको स्वास्थ्य परीक्षण गर्दै आरु क्लिनिकका कर्मचारी

काठमाडौंको मुलपानीमा बस्दै आएका डण्डु नेपाल लामो समयदेखि विभिन्न दीर्घ रोगको औषधी सेवन गरिरहेका छन् । साथीभाइले आरु क्लिनिकबारे जानकारी दिएपछि उनी क्लिनिकमा आएका भेटिए । क्लिनिकले निःशुल्क सेवा दिएपछि उनी दङ्ग देखिन्थे ।

बिरामीको चेकजाँच गर्दै डा. स्मृति श्रेष्ठ

विगत १८ वर्षदेखि विभिन्न रोगको औषधी खाइरहेका डण्डुलाई सुगर, प्रेसर, थाइराइड, कोलेस्ट्रोल लगायतको समस्या छ । सरकारीदेखि प्राइभेट अस्पतालसम्म धाएका डण्डु आरु क्लिनिकले निःशुल्क सेवा र औषधिसमेत दिँदा अचम्मित छन् । आफूले सोचेभन्दा फरक पाएको डण्डुको भनाई छ ।

डण्डु नेपाल, सेवाग्राही

सुरुसुरुमा त धेरै मानिसलाई क्लिनिकबारे थाहा पनि थिएन । तर अहिले एकले अर्कोलाई, अर्कोले अर्कोलाई भनेपछि यहाँ सेवा लिनेहरूको भीड लाग्ने गरेको छ । यहाँ बच्चादेखि वृद्धसम्म उपचारका लागि आउने गरेका छन् ।
क्लिनिकको निःशुल्क सेवा लिन पाउँदा दङ्ग भएका अर्का सेवाग्राही हुन्, स्थानीय वीरेन्द्रनाथ योगी । आफ्नो पालो कुरिरहेका उनी गत मङ्सिरदेखि क्लिनिकबाट सेवा लिइरहेका छन् । निःशुल्क भए पनि धेरै पैसा लिएर उपचार गराउने अस्पतालको भन्दा राम्रो सेवा आरु क्लिनिकले दिएको योगी बताउँछन् ।

वीरेन्द्रनाथ योगी, सेवाग्राही

निःशुल्क भएकाले आर्थिकरुपमा कमजोर व्यक्ति मात्रै उपचारका लागि यहाँ आउँदैनन्, हुनेखाने वर्गले पनि यस क्लिनिकको सेवा पाइरहेका छन् । नियमितरुपमा परीक्षण र औषधी सेवन गर्नुपर्ने व्यक्तिहरू पनि यहाँ पुग्ने गरेका छन् । दैनिक ५० जनाको कोटा भए पनि यहाँ ८० जनासम्मले सेवा लिइरहेका छन् । कुनै दिन कोटाभन्दा बढी बिरामी आए पनि सकेसम्म फिर्ता नपठाइएको क्लिनिकमा कार्यरत फिजिसियन डा. स्मृति श्रेष्ठले बताइन् ।

डा. स्मृति श्रेष्ठ, जनरल फिजिसियन

आरु क्लिनिकले अन्य स्वास्थ्य संस्थामा उपचार गराइरहेका सेवाग्राहीलाई समेत निःशुल्क ल्याब टेस्टको सुविधा दिइरहेको छ । जसको कारण विपन्न वर्गका बिरामीलाई लाभ पुगेको क्लिनिकको दाबी छ । अस्पताल बसाइ तथा विभिन्न परीक्षणमा हुने थप खर्च क्लिनिकको सेवाले जोगाएको क्लिनिकमा सेवा लिन आएका बिरामीहरू बताउँछन् ।

आरु क्लिनिकमै उपचारका लागि आएको बच्चु सेन्चुरी पनि आफ्नो पालो कुरेर बसिरहेका भेटिए । यसअघि पनि पटक पटक सेवा लिइसकेका सेन्चुरीले नेपालका अन्य स्थानमा समेत यस्तै खालका निःशुल्क क्लिनिक सञ्चालन हुनुपर्ने बताए ।

बच्चु सेन्चुरी, सेवाग्राही

कतिपय बिरामीहरूले पैसाको अभावमा उपचार नपाएर रोग पाल्ने मात्रै होइन, ज्यानसमेत गुमाइरहेका छन् । यस्तो अवस्थामा एक बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत गरेको यो कार्य सराहनीय मात्रै होइन, राज्यलाई स्वास्थ्य सेवाका लागि झकझकाउने दरिलो सन्देश पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?