पुण्य गौतममाथि आक्रमण गर्ने व्यक्ति दुर्गा प्रसाई समूहको भएको खुलासा, २ जना पक्राउ

लोकपथ
875
Shares

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउने पुण्य गौतममाथि आक्रमण गर्ने व्यक्तिहरू दुर्गा प्रसाई समूहका सदस्य भएको खुलेको छ । प्रहरीले बिहीबार आक्रमणमा संलग्न दुई जनालाई सार्वजनिक समेत गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार पुण्य गौतममाथि आक्रमण गर्ने दुई जना सदस्य मेडिकल व्यवसायी दुर्गा प्रसाईको समूहमा आबद्ध व्यक्तिहरू हुन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोकको तेमाल घर भई हाल भक्तपुरको च्यामासिहं बस्ने ३० वर्षीय टासी लामा भन्ने सञ्जीव तामाङ र रसुवाको नवकुण्ड गाउँपालिका ५ घर भई गोकर्णेश्वर नगरपालिका ४ बस्ने ४१ वर्षीय मिलन भन्ने दिल बहादुर गङदान रहेका छन् । घटनाको मुख्य योजनाकार नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक मिलन लामा भन्ने दिल बहादुर गङदान रहेको प्रहरीले जनाएको छ । नागरिक बचाउ महाअभियान दुर्गा प्रसाईले नेतृत्व गरेको असङ्गठित समूह हो ।

अभियन्ता गौतममाथि २०८१ असोज २१ गते राती अन्दाजी ९ बजेर १० मिनेटको समयमा काठमाण्डौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ बेशीगाँउस्थित सडकमा आक्रमण भएको थियो ।

गौतममाथि आक्रमणमा प्रयोग भएको रड

४६ वर्षीय गौतमलाई अपरिचित व्यक्तिहरूले रड प्रहार गरी घाइते बनाई फरार भएका थिए । आक्रमणपछि गम्भीर घाइते भएका गौतमको नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, अत्तरखेलमा उपचार भइरहेको छ ।

घटनाको सम्बन्धमा जानकारी आए लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानका क्रममा पक्राउ परेकाहरूको संलग्नता खुले लगत्तै प्रहरीले उनीहरूको खोजतलास गरेकामा २०८१ असोज २२ गते राती १०ः३० बजेको समयमा रड प्रहार गर्ने टासी लामा भन्ने सञ्जीव तामाङलाई नियन्त्रणमा लिइएको थियो । टासीकै सूचनाका आधारमा प्रहरीले २०८१ असोज २३ गते दिउँसो ३ बजे घटनाको मुख्य योजनाकार नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक मिलन लामा भन्ने दिल बहादुर गङदानलाई गंगाहिटीबाट नियन्त्रणमा लिएको हो । उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको छ ।

अभियन्ता गौतममाथि के कति कारणबाट आक्रमण गरिएको हो भन्ने कुरा अझै खुलेको छैन । यद्यपि पक्राउ परेका व्यक्तिले आफू नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक रहेका बताएको र सांगठानिक योजना अनुरूप आक्रमण गरेको प्रारम्भिक सोधपुछमा बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?