मन्त्री पाण्डेले नेपाललाई ‘रिटायर टुरिज्म’को गन्तव्य बनाउन सक्नुपर्छ : लाक्पा फुटी शेर्पा 

लोकपथ
56
Shares

काठमाडौं । पर्यटन व्यवसायी एवं पर्वतारोही लाक्पा फुटी शेर्पाले नेपालमा ‘रिटायर टुरिज्म’ सम्भावना रहेकाले सरकारले त्यसको अवधारणा अघि सार्नुपर्ने सुझाव दिएकी छिन् ।

उनले विदेशीहरू आफ्नो अवकाश जीवन नयाँ नयाँ घुमेर बिताउन चाहने भएकाले नेपालले ‘रिटायर टुरिज्म’को अवधारणा बनाएर प्रवर्धन गर्नुपर्ने सुझाव दिएकी हुन् । 

‘यतिबेला राइट ठाउँमा राइट मिनिस्ट्री हुनुहुन्छ । मन्त्री बद्री पाण्डेको सुरुवाती नै राम्रो देखिएको छ । जस्तो पर्यटन बोर्डको सिइयो नियुक्तिदेखि आर्थिक प्रलोभनमा उहाँ पर्नुहुन्छ जस्तो लाग्दैन । त्यसैले उहाँलाई मेरो सुझाव के छ भने नेपालमा थप दश वटा जहाज किन्नुपर्छ । साथै विदेशी नागरिकले आफ्नो देशमा ६५ वर्षसम्म काम गर्छन् । त्यसपछि घुम्न चाहन्छन् । उनीहरुलाई नेपाल घुम्न र बस्नका लागि फ्रि भिसाको अवधारणा ल्याएर वा कुनै सहुलियत दिलाएर नेपाल भित्र्याउन सक्नुपर्छ,’ उनले भनिन्,‘मन्त्री पाण्डेकै कार्यकालमा रिटायर टुरिज्म सुरु होस् । उनीहरू अपार्टमेन्ट वा लक्जरी होटेलमा बस्न रुचाउँछन र खर्च गर्न चाहन्छन् । अवकास जीवन बिताइरहेकाहरू परिवार नै नेपाल घुम्न आउने वातावरण बनाउनुपर्छ ।’

हुन त काम गर्नेहरूलाई नेपालको सिस्टमले अवरोध खडा गर्ने उल्लेख गर्दै उनले १० वटा जहाज खरिद गर्न र रिटायर टुरिज्म विकास गर्न ढिला गर्न नहुने बताइन । प्राकृतिक र वातावरणीय दृष्टिकोणले बस्नका लागि नेपाल उपयुक्त गन्तव्य भएकाले एउटा निश्चित मापदण्ड बनाएर रिटायर पर्यटक नेपाल ल्याउनुपर्ने बताइन । 

उनले पर्यटन क्षेत्रमा सरकारले लगाइरहेको केही अनावश्यक कर हटाउन पनि माग गरिन । नेपाल कृषि पर्यटनका लागि उपयुक्त भएकाले विश्वका विभिन्न देशमा कृषिजन्य वस्तुहरू निर्यात गर्न सकिने भएकाले एग्रो टुरिज्मको विकासमा लाग्नुपर्ने बताइन । नेपालमा इमानदार र विधिपूर्वक व्यवसाय गरिरहेकाहरूलाई माफिया भनेर आरोप लगाउने गरेको भन्दै माफिया शब्दप्रति आपत्ति जनाइन्

 । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?