लमजुङमा जिप दुर्घटना, २१ जना घाइते

४ जना घाइतेलाई सिटी स्क्यान गर्न भरतपुर पठाइयो

लोकपथ
378
Shares

काठमाडौं । लमजुङको सारिङबाट सदरमुकाम बेशीसहरतर्फ जाँदै गरेको जिप मकैडाँडा भन्ने स्थानमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी निशान्त श्रीवास्तवका अनुसार मकैडाँडा मोडमा जिप दुर्घटनामा परेको हो । धेरै यात्रु बोकेको कारण चालकले नियन्त्रण गुमाउँदा जिप दुर्घटनामा परेको अनुमान गरिएको छ ।

ग १ ज ८५५१ नम्बरको जिप आइतबार बिहान ११:२० बजे दुर्घटनामा परेको थियो । जिपका मालिक तथा चालकसमेत रहेका ५८ वर्षीय कृष्ण बहादुर रिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक सोधपुछमा चालकले जिपको ब्रेक फेल भएको कारण दुर्घटना भएको प्रतिक्रिया दिएका छन् ।

अगाडि अधिकतम ५ जनाको सिट रहेको जिपको पछाडि सामान बोक्न ढाला राखिएको थियो । तर दसैँ मनाउन घर गएकाहरू सदरमुकाम वा अन्यत्र फर्किन २२ जना व्यक्तिहरू जिपमा चढेका थिए । जिपमा ओभरलोड हुँदा चालकले नियन्त्रणमा राख्न नसकी दुर्घटना भएको प्रहरीको अनुमान छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये १७ जनाको प्रारम्भिक उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । घाइतेमध्ये टाउकोमा चोट लागेका चार जनालाई सिटी स्क्यान गर्नका लागि चितवनको भरतपुरमा पठाइएको छ ।

तस्वीर : जिबि घिमिरे (प्रदीप)को फेसबुकबाट

मकैडाँडा मोडमा जिप दुर्घटना हुँदा चालकले जिपलाई भित्तामा ठोक्काएका थिए । भिरालो बाटो र मोड भएको तथा ओभरलोडका कारण जिप कन्ट्रोल गर्न नसकेको पाइएको छ ।

जिप नियन्त्रण गर्न नसकेपछि चालक आफैँले क्षति कम गराउन भित्तामा ठोक्काएको बुझिएको छ । भिरबाट जिप खसेको भए धेरै जनधनको क्षति हुनसक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?