राष्ट्रिय सभा अध्यक्ष दाहाल जेनेभामा, आईपीयू अध्यक्ष र महासचिवसँग शिष्टाचार भेट

लोकपथ
35
Shares

जेनेभा । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा.तुलिया अक्सन एवं महासचिव मार्टिन चुङगोङसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा नेपालको संघीय संसद् र अन्तर व्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदानप्रदान, लोकतन्त्रका लागि संसदीय भूमिका लगायतका विषयमा कुराकानी भएको थियो ।

भेटमा अध्यक्ष दाहालले आईपीयूका विभिन्न सभा तथा कार्यक्रमहरुले लोकतन्त्र, मानवअधिकार, लैङ्गिक समानता, युवा सशक्तिकरण, दिगो विकास लगायतका सवालमा संवाद, सहकार्य र असल अभ्यासहरुको आदान प्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए ।

अध्यक्ष दाहालले संसदीय अभ्यास थप परिस्कृत गर्न र लोकतान्त्रिक संस्थाहरु थप सुदृढ गर्न अन्तर व्यवस्थापिका संघसँग आफूहरुले बलियो र घनिष्ट सहकार्य गर्न इच्छुक रहेको बताए । सो अवसरमा उनले आईपीयूसँग सिधा सम्पर्कमा रहन यसको सचिवालयमा नेपालको पनि सहभागिता गराउनतर्फ सोच्न आग्रह गरे ।

संविधान सभाबाट जारी संविधानमार्फत् नेपालले महिला, अल्पसंख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको भन्दै अध्यक्ष दाहालले संघीय संसद्मा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिलाहरु जनप्रतिनिधिको रुपमा सहभागी रहेको बताए ।

जनप्रतिनिधिमार्फत् विश्वभरका मानिसले अनुभूत गरेका आवश्यकता, आकांक्षा एवम् समस्याहरु अभिव्यक्त गर्न सकिने साझा मञ्चको रुपमा अन्तर व्यवस्थापिका संघलाई आफूले बुझेको भन्दै अध्यक्ष दाहालले यसको गरिमा र महत्त्व विश्वमा झनै बढ्दै गइरहेको बताए ।

सो अवसरमा अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा.तुलिया अक्सनले नेपालले विगतदेखि नै आईयूमा सक्रिय सहभागिता जनाएको भन्दै खुसी व्यक्त गरे । नेपालको संघीय संसद्मा ३३ प्रतिशत महिला सहभागी हुनु निकै प्रशंसनीय रहेको भन्दै समावेशीकरणमा नेपालले राम्रो काम गरिरहेको बताए ।

आइपीयूको सचिवालयलाई अझै व्यवस्थित बनाउन लागिरहेको भन्दै अध्यक्ष तुलियाले आईपीयू सचिवालयमा नेपाली प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताए । भेटमा नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरूको पनि सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?