बस चालक ‘निदाउँदा’ चार जनाको ज्यान गयो, १२ घाइते

लोकपथ
637
Shares

काठमाडौं । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमका अनुसार, दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमती बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो ।

दुर्घटनामा बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनामा घाइते हुनेमा पुचौर्डी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नं ६ का २४ वर्षीय राजेन्द्र साउँद, वडा नं. ८ का ४२ वर्षीय पदम बोहरा, २४ वर्षीय बस चालक वीरेन्द्र बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी रहेका छन् ।

यसै गरी, पुर्चौडी नगरपालिकाकै वडा नं.१० का दामोदर महरा, धनबहादुर महरा, कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, वडा नं. ५ की ६५ वर्षीय धनमती साउँद, डडेल्धुरा आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा घाइते भएका छन् ।

घाइतेहरूको डडेल्धुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?