हनी ट्र्याप प्रकरणमा निलम्बित इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी, पक्राउका लागि प्रहरी परिचालन

लोकपथ
525
Shares

काठमाडौं । ‘हनी ट्र्याप’ प्रकरणमा मुछिएकी ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले उनलाई पक्राउ गर्न बाटो खुलेको र पक्राउका लागि खोजी भइरहेको बताए ।

‘हनी ट्र्याप’ घटनामा बलात्कारको कसुर लगाएर फसाइदिने भन्दै प्रहरी निरीक्षक शाहीले पीडित भनिएका व्यक्तिसँग ३० लाख रुपैयाँमा डिल गरेको आरोप लागेको छ । पीडितले नै प्रहरीलाई भनेपछि घटना बाहिर आएको थियो ।

घटना बाहिर आएपछि प्रहरी निरीक्षक शाहीलाई जिम्मेवारीबाट हटाएर महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको थियो । त्यहीँ रहँदा उनी निलम्बनमा परेकी थिइन् । ती व्यवसायीले आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैंसेपाटीकी इन्चार्ज प्रहरी निरीक्षक शाही पनि मिलेको आरोप लगाएपछि डीएसपी नरहरि अधिकारी नेतृत्वको छानबिन समिति गठन भएको थियो । समितिको सिफारिसको आधारमा इन्स्पेक्टर शाहीलाई निलम्बन गरिएको थियो ।

यो प्रकरणमा प्रहरीले भैँसेपाटी प्रभागमै कार्यरत एक जना सहायक हवलदारसहित ४ जनालाई पक्राउ गरिसकेको छ ।

पछिल्लो पटक भने सुनसरीको इटहरी घर भएकी भीमादेवी थापालाई प्रहरीले पक्राउ गरेको थियो । यसअघि प्रहरीले सुस्मा विक र इटहरी घर भएका ताज मूल इस्लामलाई पक्राउ गरेको थियो ।

सो घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल भने फरार छन् । उनीहरूविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

सो समूहले ललितपुरको साना गाउँका घरजग्गा कारोबारीबाट ३० लाख असुलेको थियो । पछिल्लो पटक पक्राउ परेकी भीमादेवीको खातामा दुई पटकमा २० लाख रुपैयाँ जम्मा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?