नेकपा बहुमतद्वारा मिटरब्याजी आरोपित पन्थलाई ‘जनकारबाही’, घरमै गएर दलियो कालोमोसो

लोकपथ
343
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५ नं ब्युरो संगठन समितिले मिटरब्याजी आरोपित दुर्गाप्रसाद पन्थलाई ‘जनकारबाही’ गरेको छ । सो पार्टीले उनलाई मंगलबार उनी बसेकै ठाउँमा जुत्ताको माला लगाउनुका साथै कालोमोसो दलेको थियो ।

नेकपा बहुमतले उनीसँग तीन सयभन्दा बढी जग्गाधनी पुर्जा आफ्नै नाममा रहेको र आफ्नै निजी निवासमा कार्यालय नै राखेर मिटर ब्याजको धन्दा गर्ने गरेको आरोप लगाएको छ । विभिन्न शक्तिकेन्द्र र सत्तासीन पार्टीको आडमा उनले चर्को ब्याजदरमा ऋण लगाएर अरबौंको सम्पत्ति जोडेको पनि सो पार्टीले जनाएको छ ।

उनले दाङदेखि काठमाडौंसम्म दसौं घर घडेरी जोडेको, लुटको धन लुकाउन राजनीतिक रुपमासमेत सकृय रहेको, कुनै पेसा व्यवसाय नभएपनि उनी अरबौंको सम्पतिको मालिक रहेको नेकपा बहुमतले आरोप लगाएको छ ।

जन्मभूमि गुल्मी भएपनि दाङलाई कर्मभूमि बनाएका उनी दाङस्थित घोराही–१४ का स्थायी बासिन्दा रहेको, सुरुमा न्यु पन्थ इन्टरप्राजेज घोराही–१० मा प्लास्टिकका भाँडाकुँडाको व्यापार व्यवसाय गर्ने उनी २०७१ देखि कुनै पनि पेसा व्यवसायमा संलग्न नरहेको, स्थायी लेखा नं ३००२२३२७७/३३७ भएको न्यु पन्थ इन्टरप्राइजेजले राज्यलाई तिर्नु पर्ने कुनै पनि राजस्व नतिरेको नेकपा बहुमतले जनाएको छ ।

मिटरव्याजीको नाइके, नामुद सुदखोर, जाली तमसुक कागज चेक लिएर जनतालाइ सास्ती दिएको, चक्रीय ब्याज दर लगाइ जनतालाइ बेघरबार बनाएको, वित्तीय आतंक मच्चाएको, अवैध ढंगले अकुत सम्पत्ति जोडेको र राजस्व छली गरेकाले उनीमाथि जनकारबाही गरिएको सो पार्टीले जनाएको छ ।

सो पार्टीले निज पन्थलाई १० दिनभित्र छिनुवा पास, दृष्टि बन्धक वा चेक तथा तमसुक गरी कब्जामा लिएको घर जग्गा निःशर्त फिर्ता गर्न पनि कडा निर्देशन दिएको छ । यसका साथै सो पार्टीले निजको सम्पत्तिको श्रोत र सम्पत्तिलाई सम्पत्ति शुद्धीकरणको कानुनी दायरामा ल्याउन राज्यको निकायलाई पनि विशेष अनुरोध गरेको छ । अन्यथा अर्को चरणको निर्मम कारबाही गर्न आफूहरु बाध्य हुने चेतावनीसमेत सो पार्टीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?