असमानता र विभेद हटाउन अझै धेरै काम गर्न बाँकी छ : संचारमन्त्री गुरुङ

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यले समान अधिकार दिन नसकेको कारण अझै असमानता रहेको बताएका छन् । 

बुधबार ‘दनुवार’भाषामा समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ समारोहमा उनले समाजमा रहेको असमानता, विभेद, उत्पीडन हटाउनको लागि संघीय शासन प्रणालीको आवश्यक रहेको बताएका हुन् । 

उनले भने, ‘अहिले पनि सबै कुरा हेर्दा विविधता भित्र असमानता, विभेद, उत्पीडनका विषयमा झगडा हुन्छ । राज्यले समान अधिकार दिन नसकेको हुनाले यस्तो भएको हो । यसको व्यवस्थापन गर्नको लागि संघीय शासन प्रणालीको आवश्यकता हुन्छ । यसका लागि विविधताभित्र एकता खोज्नु पर्छ । नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नको लागि सबैलाई थोरै थोरै र बराबर अधिकार दिएर अगाडि बढ्नु पर्छ ।’

आफ्नो प्रतिनिधि माथि जनताको राम्रो नियन्त्रण कायम होस् र लोकतन्त्र राम्रो होस् भनेर संघीय प्रणालीमा आएको पनि उनको भनाई छ । 

यस्तै, उनले समयअनुसार नढल्ने हो भने विकास सम्भव नहुने भन्दै रेडियो नेपाललाई वर्तमान समाजमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनुपर्ने बताए । 

उनले सरकार र नीति नियमको स्थिरताको लागि र जनताको समस्या समाधान गर्नको लागि यो सरकार बनेको भन्दै सरकारले आफ्नो काम गर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?