दुबईमा मधेसी समुदायले सामूहिक रूपमा मनाए दसैँ

लोकपथ
49
Shares

काठमाडौं । विदेशमा बस्ने मधेसीहरूको साझा संगठन मधेसी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा विजयादशमी मनाएको छ ।

दुबईमा बसोबास गर्ने मधेसीहरू जम्मा भएर विजयादशमी मनाएका हुन् । कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका पूर्व प्रमुख डा.राजेश अहिराजले उपस्थित सबैलाई धन्यवाद दिँदै विदेशमा मधेसी समुदायलाई एकताबद्ध गर्न मधेसी एकता समाजले गरेका प्रयासहरूको प्रशंसा गरे । 

एकता समाजका मुख्य संस्थापक एवं अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक डा. रवीन्द्र कुमार यादवले मध्यपूर्व, जापान, अमेरिका, नेपाल र अन्य क्षेत्रमा संगठनको विस्तारबारे जानकारी दिए । 

विदेशमा मधेसी श्रमिकहरूको कल्याणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै डा.यादवले मधेसी समुदायको सेवा गर्न संगठनको प्रभाव र पहुँचलाई बढाइने धारणा राखे ।

जनकपुर प्रादेशिक अस्पतालमा कार्यरत डा. कृष्ण यादवले नेपालमा मधेसी एकता समाजको विस्तारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

दुबईमा कार्यरत मधेसी मूलकी नर्स सुश्री नयनाले एकता समाजको हिस्सा बनेकोमा खुसी व्यक्त गर्दै संगठनले दुबईमा मधेसी श्रमिकहरूको सहयोगमा गरेको कामको प्रशंसा गरिन् । 

समाजका वर्तमान अध्यक्ष धर्मेन्द्र गोहिबारले आफ्नो संस्कृति र परम्पराको उत्सव मनाउँदा ती महत्त्वपूर्ण चाडपर्वहरूले एक सुत्रमा बाँध्न सहयोग पुग्ने बताए ।  

एकता समाजका महासचिव रोशन माक्र्सिस्टले सञ्चालन गरेको कार्यक्रममा नेपाली दूतावास अबुधाबीका तृतीय सचिवद्वय विमलेश कुमार मिश्र, विकास भट्टराई र अनुवादक रजी अहमदलगायतका व्यक्तित्वहरू सहभागी थिए ।

कार्यक्रममा उपस्थित सबैले मिठो परिकार खाँदै आनन्द लिए भने एक आपसमा शुभकामना साटासाट पनि गरे । त्यस अवसरमा नयाँ वर्षको कार्यक्रम आउँदो जनवरी ५ मा आयोजना गर्ने घोषणा गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?