वीपी कोइराला मेमोरियल कप भैरहवामा हुने

लोकपथ
42
Shares

भैरहवा ।  वीपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपालसहित पाँच देशका प्रथम श्रेणीका खेलाडीको सहभागितामा प्रतियोगिता आयोजना हुन लागेको हो । 

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा नेपाली क्रिकेट विकासमा टेवा पुर्‍याउने र खेल पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ कात्तिक ३ देखि १० गतेसम्म प्रतियोगिता आयोजना हुने जनाइएको छ । 

एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले प्रतियोगितामा पाकिस्तानी क्लबबाट पाकिस्तान राष्ट्रिय टिमबाट खेलिसकेका इम्रान नाजिर, बंगलादेशको टिमबाट बंगलादेशी स्टारहरू आलोक कपाली र मुनिम साहरियर, भारतबाट आइपिएल खेलाडी दीपक पुनियासहित सबै टिममा प्रथम श्रेणीका खेलाडीको सहभागिता रहने बताए।

प्रतियोगितामा बंगलादेशबाट गुलाज वरियर्स बंगलादेश, टाइगर्स इन्टरनेशनल स्पोर्ट्स पाकिस्तान, नेक्सस रुपन्देही ११, लाइफ केयर क्रिकेट क्लब भारत, श्रीलंका स्टेट सर्विसेज क्रिकेट एशोसिएशनको टिम सहभागी रहनेछ । 

विजयी टिमलाई  पाँच लाख र उपविजेतालाई  तीन लाख पुरस्कार प्रदान गरिने अध्यक्ष शाहीले जानकारी दिए । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई  ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाई जनही २० हजार तथा प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई पाँच हजार प्रदान गरिनेछ । 

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा आयोजित यो प्रतियोगिताले रुपन्देही मात्र नभई नेपालकै क्रिकेटको विकासमा महत्त्वपूर्ण भूमिका निभाउने आयोजकको अपेक्षा रहेको छ । 

प्रतियोगितालाई नेपाल क्रिकेट संघले आधिकारिकता प्रदान गरेको छ भने प्राविधिक सहयोग रुपन्देही क्रिकेट संघले गरेको छ ।

भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगितामा प्रत्येक टिमले एक अर्कासँग खेल्ने र अन्तिम चारमा पुगेका बीच सेमीफाइनल हुने लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न करिब एक करोड २० लाख खर्च हुने आकलन गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?