अवैध लागुऔषधसहित पाँच जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं, चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्रामसहित मकवानपुर थाहा नगरपालिका–६ बस्ने २२ वर्षीय सरोज अधिकारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीले काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ७३३६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

साथै थप अनुसन्धानको क्रममा मकवानपुर थाहा नगरपालिका–९ बस्ने २९ वर्षीय भूपेन्द्र बस्नेत उक्त पदार्थ रिसिभ गर्न आउने खुल्न आएपछि उनलाई काठमाडौं चन्द्रागिरि नगरपालिका–१ दह चोकबाट प्रहरीले पक्राउ गरेको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका–१५ सुर्मीबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय मनिराम राना र २४ वर्षीय हुकुम सिंह राना रहेका छन् । प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

भोजपुर, अरूण गाउँपालिका–६ जरायोटारस्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय १० मिलिग्राम सहित भोजपुर नगरपालिका–९ बस्ने २५ वर्षीय अमूल राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरीले दमकबाट भोजपुरतर्फ आउँदै गरेको बा.३ ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?