सर्वोच्चका न्यायाधीश ढुङ्गाना अवकाशमा जाँदै, आज बिदाइ कार्यक्रम

लोकपथ
2.1k
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गाना शनिबार रातिदेखि अवकाशमा जाँदै छन् । कात्तिक ३ गते शनिवार परेको कारण शुक्रबार नै उनको बिदाइ हुँदैछ ।

४० वर्ष न्याय सेवामा बिताएका न्यायाधीश ढुङ्गानालाई बिदाइ गर्न शुक्रबार अपराह्न ४ बजे सर्वोच्च अदालतमा एक कार्यक्रमको आयोजना गरिएको छ । ५ वर्ष ६ महिना सर्वोच्च अदालतमा न्यायाधीशको रूपमा कार्य गरेका ढुङ्गाना ६५ वर्षे उमेर हदका कारण कात्तिक ३ गतेबाट अनिवार्य अवकाशमा जाँदै छन् ।

को हुन् ढुङ्गाना ?
२०१६ साल कात्तिक ४ गते धनुषाको साबिक गोविन्दपुर गाविस १ मा जन्मिएका ढुङ्गाना सन् १९८४ मा न्याय सेवामा अधिकृत तहबाट प्रवेश गरेका व्यक्ति हुन् । ढुङ्गानाको पहिलो पोस्टिङ कानुन अधिकृतको रूपमा कानुन तथा न्याय मन्त्रालयमा भएको थियो । अधिकृत भएको ९ वर्षपछि सन् १९९३ मा उपसचिव बनेका ढुङ्गाना स्थानीय विकास मन्त्रालयमा सरुवा भएका थिए । तीन वर्ष स्थानीय विकास मन्त्रालयमा काम गरिसकेपछि ढुङ्गानालाई सन् १९९६ मा उच्च अदालत जनकपुरको रजिस्ट्रार बनाइएको थियो । त्यसको एक वर्षपछि १९९७ मा उनी उच्च अदालत पाटनको रजिस्ट्रार बने ।

सन् २००१ सालमा उनी सह रजिस्ट्रारमा पदोन्नति भई न्याय परिषद्मा सरुवा भएका थिए । सन् २००२ मा उनलाई सम्पत्ति न्यायिक जाँचबुझ आयोगको सदस्यसचिव बनाइएको थियो ।

सह रजिस्ट्रार बनेको ६ वर्षपछि उनी सन् २००७ मा न्याय परिषद्को सचिव बनेका थिए । सचिवका रूपमा न्याय परिषद्मा दुई वर्ष काम गरेपछि ढुङ्गाना सन् २००९ मा साबिकको पुनरावेदन अदालत पाटनको न्यायाधीशका रूपमा नियुक्त भएका थिए । उच्च अदालतका न्यायाधीशकै अध्यक्षतामा रहने राजश्व न्यायाधिकरण अन्तरगत बाँकेमा उनी सन् २०११ काम गरेका थिए । सन् २०११ देखि नै ढुङ्गाना तीन वर्ष साबिकको पुनरावेदन अदालत बाँके, नेपालगन्जमा न्यायाधीशका रूपमा समेत कार्य गरेका छन् ।

सन् २०१४ मा ढुङ्गानालाई राजश्व न्यायाधिकरण कास्कीको प्रमुखको जिम्मेवारीसहित पुनरावेदन अदालत पोखरामा सरुवा गरिएको थियो । त्यसको एक वर्षपछि ढुङ्गाना सन् २०१५ मा पुनरावेदन अदालत धनकुटाको निमित्त मुख्य न्यायाधीश बनेका थिए भने सन् २०१६ मा उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा नियुक्त भएका थिए । त्यसै गरी सन् २०१७ देखि २०१९ सम्म ढुङ्गानाले उच्च अदालत पाटनको मुख्य जिम्मेवारी सम्हालेका थिए ।

सन् २०१९ अप्रिल अर्थात् २०७५ चैत १९ गते सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका ढुङ्गाना २०७६ वैशाख ६ गते अनुमोदित भई न्यायाधीशको शपथ गरेपछि सर्वोच्च अदालत आइपुगेका थिए ।

न्यायाधीश ढुङ्गानाले सर्टिफिकेट अफ ल हुँदै, डिप्लोमा इन ल, डिप्लोमा इन पब्लिक एडमिनिस्ट्रेसन, मास्टर्स इन पोलिटिकल साइन्स, मास्टर्स इन पब्लिक एडमिनिस्ट्रेसन र कानुनमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।

सर्वोच्च अदालतमा ५ वर्ष ६ महिना न्यायाधीशका रूपमा काम गरेका ढुङ्गाना ६५ वर्षे उमेर हदका कारण कात्तिक ३ गते रातीबाट अनिवार्य अवकाशमा जाँदै छन् । कात्तिक ३ गते शनिबार अर्थात् सार्वजनिक बिदा परेको कारण सर्वोच्च अदालत परिवारले शुक्रबार नै बिदाइ कार्यक्रमको आयोजना गर्न लागेको हो ।

लामो समय न्याय सेवामा बिताएका न्यायाधीश ढुङ्गाना निर्विवादित न्यायाधीश हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?